बेलडाँडी गाउँपालिकाको मनोसामाजिक परामर्शकर्ता पदमा महता सिफारिस

बेलडाँडी। कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको मनोसामाजिक परामर्शकर्ता पदमा धनबहादुर महता सिफारिस भएका छन्। गाउँ कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार बेलडाँडी गाउँपालिका-१ निवासी महता खुला प्रतिस्पर्धाबाट उक्त पदका लागि सफल भएका हुन्।

गाउँपालिकाले सञ्चालन गरेको लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्तामा प्राप्त कुल प्राप्ताङ्कका आधारमा महता सिफारिस योग्यताक्रमको पहिलो स्थानमा परेका हुन्। गाउँपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार वैकल्पिक योग्यताक्रममा सुमित्रा कुमारी चौधरी रहेकी छन्।

मनोसामाजिक परामर्शकर्ता पदमा सिफारिस भएका महता यसअघि पत्रकारितामा समेत सक्रिय थिए। नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखा कार्यसमिति सदस्य समेत थिए । उनी सामाजिक संस्था तथा खेलकुद क्षेत्रमार्फत पनि समुदायसँग जोडिएर काम गर्दै आएका छन्। महता बेलडाँडी गाउँपालिका-१ मा रहेको अल स्टार युवा क्लबका सचिवसमेत हुन्। साथै, उनी कञ्चनपुर खेलकुद विकास समितिको सदस्यका रूपमा रहिसकेका थिए ।

खेलकुदप्रति विशेष रुचि राख्ने महताले अन्तर्राष्ट्रियस्तरमा एम्पुटी फुटबलसमेत खेलेका छन्। राष्ट्रिय एम्पुटी खेलाडी पनि हुन् । पत्रकारिता, सामाजिक संस्था र खेलकुद क्षेत्रसँग जोडिएर अनुभव हासिल गरेका महता अब मनोसामाजिक परामर्शकर्ताका रूपमा गाउँपालिकाको सेवामा जोडिने भएका छन्।

गाउँपालिकाले सफल उम्मेदवारलाई अन्तिम नतिजा प्रकाशन भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित नियुक्तिका लागि गाउँ कार्यपालिकाको कार्यालयमा उपस्थित हुन सूचित गरेको छ।

मनोसामाजिक परामर्शकर्ताको भूमिकामा रहेर नागरिकका मनोसामाजिक समस्या बुझ्ने, आवश्यक परामर्शमा सहजीकरण गर्ने तथा समुदायस्तरमा सहयोग पुर्‍याउने जिम्मेवारी महताको आगामी कार्यक्षेत्रसँग जोडिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित