बेलडाँडीमा बस्ती नजिकै पाटेबाघ देखिएपछि सुरक्षा निकाय अलर्ट, ड्रोनबाट खोजी गर्दा पनि फेला परेन

कञ्चनपुर । बेलडाँडी गाउँपालिका-५ स्थित इमलिया चमनचोक नजिक बस्तीको दिशातर्फ आउँदै गरेको पाटेबाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जडान गरेको क्यामेरामा कैद भएपछि स्थानीयवासीको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न निकाय सतर्क बनेका छन्। बाघको दृश्य क्यामेरामा कैद भएपछि आज नेपाली सेना, निकुञ्ज कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), नेपाल प्रहरी, सशस्त्र प्रहरी, मध्यवर्ती उपभोक्ता समिति तथा जनप्रतिनिधिसहितका निकाय बाघको खोजी र सम्भावित जोखिम न्यूनीकरणमा जुटेका हुन्।

बस्ती नजिकै उखुबारीमा पसेको आशंका गरिएको बाघको खोजी गर्न ड्रोन क्यामेराको प्रयोग गरिएको थियो। तर, दिनभरको खोजीका क्रममा बाघ फेला पर्न सकेन। बाघ देखिएलगत्तै त्यसलाई बस्तीबाट जंगलतर्फ धपाउन आवश्यक तयारीसहित सम्बन्धित सबै निकाय परिचालित भएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा सचेतनामूलक बोर्ड राखेर स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

बस्ती आसपास वन्यजन्तुको आवतजावत निगरानी गर्न जडान गरिएको क्यामेरामा पाटेबाघको दृश्य कैद भएपछि निकुञ्जले स्थानीयलाई सचेत गराएको थियो। बाघ क्यामेरामा कैद हुनेबित्तिकै सम्बन्धित निकायमा तस्बिर पुग्ने प्रविधिसहितको क्यामेरा जडान गरिएको निकुञ्ज कार्यालय र एनटीएनसीले जनाएको छ। बाघको गतिविधि निगरानी गर्न थप क्यामेरा जडान गर्ने तथा खोजी कार्यलाई निरन्तरता दिने तयारीसमेत गरिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत बेलडाँडी रेञ्जर पोस्टका प्रमुख रेञ्जर निम चौधरीका अनुसार बस्तीको दिशातर्फ पाटेबाघ आउँदै गरेको दृश्य क्यामेरामा देखिए पछि सम्भावित जोखिम न्यूनीकरणका लागि निकुञ्जले हात्तीसमेत बोलाएर तयारी अवस्थामा राखेको उहाँले जानकारी दिनुभयो। बाघलाई बस्तीबाट जंगलतर्फ धपाउने प्रयास गरिने जनाउँदै उहाँले उक्त क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

यसैगरी, नेपाली सेनाका कर्नेल प्रकाश घिमिरेले कहि कतै देखा पर्छ भने तुरुन्त नेपाली सेनालाई खबर गर्न आग्रह गर्नु भयो । बन्यजन्तुको संरक्षण संगै नागरिकको सुरक्षामा समेत सेना तत्वर रहेको बताउदै आगामी दिनमा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताउनुभएको छ। जनचेतनामूलक कार्यक्रममार्फत पनि द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ।

ड्रोनमार्फत खोजी गर्दा बाघ नदेखिए पनि जोखिम टरिसकेको निष्कर्ष निकाल्न सकिने अवस्था छैन। बाघ कहाँ गएको छ भन्ने यकिन नभएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। विशेषगरी नहरको बाटो हुँदै आवतजावत गर्दा सावधानी अपनाउन, सम्भव भएसम्म एक्लै नहिँड्न र बाघ देखिएको क्षेत्रमा अनावश्यक रूपमा नजान आग्रह गरिएको छ।

बाघ देखिएमा नजिक जाने, फोटो खिच्ने वा आफैँ धपाउने प्रयास नगरी तत्काल सचेतना बोर्डमा उल्लेख गरिएको सम्पर्क नम्बरमार्फत सम्बन्धित निकायलाई जानकारी गराउनुपर्नेछ। बिहान-बेलुका मात्र नभई बाघको गतिविधि यकिन नभएसम्म जुनसुकै समयमा सावधानी अपनाउनु आवश्यक छ।

इमलिया चमनचोक नजिक पाटेबाघ देखिएपछि नेपाली सेना, निकुञ्ज कार्यालय, एनटीएनसी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मध्यवर्ती उपभोक्ता समिति तथा जनप्रतिनिधिसहितका निकायले तत्काल चासो देखाउँदै खोजी र सुरक्षा सतर्कता अपनाउनु सकारात्मक पक्ष हो। बाघ देखिएपछि जोखिमलाई बेवास्ता नगरी विभिन्न निकाय एकजुट भएर परिचालित हुनु नागरिक सुरक्षाप्रतिको जिम्मेवारीबोधको उदाहरण हो।

यद्यपि, ड्रोनबाट खोजी गर्दा बाघ फेला नपर्नु र बाघको वास्तविक अवस्थाबारे यकिन हुन नसक्नुले निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ। बाघको गतिविधि पहिचान, नियमित अनुगमन, समयमै सूचना प्रवाह र आवश्यक उद्धार तथा नियन्त्रण टोलीको तयारीलाई निरन्तरता दिनु जरुरी छ।

पछिल्लो समय बेलडाँडीसहित कञ्चनपुरका विभिन्न क्षेत्रमा जंगली हात्ती, पाटेबाघलगायत वन्यजन्तुको चहलपहलले स्थानीयको जनजीवन प्रभावित हुँदै आएको छ। वन्यजन्तुले बालीनाली नष्ट गर्ने, घरपालुवा जनावरमाथि आक्रमण गर्ने र बस्तीमै प्रवेश गर्ने घटनाले निकुञ्ज किनारका नागरिकमा त्रास बढाएको छ।

एकातिर खेतबारी र बालीनाली जोगाउनुपर्ने बाध्यता छ भने अर्कोतिर घरपालुवा जनावर र आफ्नै ज्यान सुरक्षित राख्नुपर्ने चिन्ता छ। यस्तो अवस्थामा नागरिकले सुरक्षित रूपमा दैनिक गतिविधि सञ्चालन गर्न पाउनु राज्यको महत्त्वपूर्ण दायित्व हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित