कात्तिक १२ देखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । सम्भावित भारी वर्षा, हिमपात, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कात्तिक १२ गतेदेखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलबार जारी गरेको सूचनाअनुसार बंगालको खाडीमा उत्पन्न भएको चक्रवातको प्रभावले कात्तिक १२ गते बिहीबारदेखि १५ गते आइतबारसम्म देशका विभिन्न भागसँगै सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ, वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाका आधारमा प्रशासनले सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सर्वसाधारण, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय र सुरक्षा निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।

प्रशासनले महाकाली नदीसहित खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय तथा डुबानको जोखिममा रहेका बस्तीका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। भारी वर्षा भइरहेको वा हुन सक्ने समयमा अनावश्यक यात्रा नगर्न र अत्यावश्यक अवस्थामा मात्र मौसम तथा सडकको अवस्था बुझेर यात्रा गर्न पनि अनुरोध गरिएको छ।

त्यसैगरी नदी, खोला, ताल तथा पोखरीमा पानीको सतह बढेका बेला माछा मार्ने, पौडी खेल्ने, नुहाउने, फोटो तथा भिडियो खिच्ने र काठदाउरा संकलन गर्ने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ।

किसानलाई खेतबारीमा काटेर राखिएको कृषि उपज तथा पशुचौपायाको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ। सम्भावित डुबानबाट जोगाउन खाद्यान्न, औषधि, मोबाइल, पशुचौपाया तथा अन्य महत्त्वपूर्ण सामग्री सुरक्षित स्थानमा राख्न र आपत्कालीन सम्पर्क नम्बरहरू सहजै भेटिने ठाउँमा राख्न पनि सूचनामा उल्लेख गरिएको छ।

विपद्को अवस्था सिर्जना भएमा वृद्धवृद्धा, बालबालिका, गर्भवती, सुत्केरी, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रशासनले आग्रह गरेको छ। स्थानीय समुदाय, जनप्रतिनिधि तथा सुरक्षा निकायबीच समन्वय गरी उद्धार र राहतका लागि तयारी अवस्थामा रहनसमेत अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले विपद्सम्बन्धी आवश्यक सूचना दिन तथा तत्काल उद्धारका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) को नम्बर १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै प्रशासनले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, अफवाहको पछि नलाग्न र आफू तथा आफ्नो परिवारको सुरक्षालाई प्राथमिकता दिन जिल्लावासीलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित