एनप्याब्सन नेपाल निलम्बनमा, गृह मन्त्रालयद्वारा सार्वजनिक सूचना जारी

काठमाडौं। नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम संस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको जनाउँदै सार्वजनिक सूचना जारी गरेको हो।

गृह मन्त्रालय सिंहदरबारबाट जारी सूचनाअनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिई सञ्चालनमा रहेको एनप्याब्सनले मन्त्रालयबाट जारी निर्देशन पटक–पटक पालना नगरेको पाइएको छ।

मन्त्रालयका अनुसार संस्थाले ऐनको दफा ५ बमोजिम जारी गरिएको निर्देशन पालना नगर्नुका साथै संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको देखिएको छ।

यस विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवालासँग २०८३ साल असोज २३ गते छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट २०८२ साल मंसिर १२ गते जारी निर्देशनबमोजिम कार्य गर्न आग्रहसमेत गरेको थियो। तर, उक्त निर्देशनबमोजिम कार्य गरेको नदेखिएपछि ऐनको दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको सूचनामा उल्लेख छ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनामा निलम्बनपछि संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही हुनेसमेत स्पष्ट पारेको छ।

गृह मन्त्रालयको उक्त निर्णयसँगै निजी तथा आवासीय विद्यालयसँग सम्बन्धित शैक्षिक संगठनको गतिविधि र सरकारी निर्देशनको पालना सम्बन्धी विषय पुनः चर्चामा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित