बेलडाँडी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पाटेबाघको चहलपहल बढ्दै गएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। गाउँपालिका–५ को बैवाह टोलमा बस्ती नजिकै उखुबारीको छेउमा आज विहिवार दिउँसो पाटेबाघ देखिएपछि स्थानीयवासीमा थप डर र चिन्ता बढेको हो।
स्थानीयका अनुसार पाटेबाघ लोकेन्द्र धामीको घरपछाडिको उखुबारीको छेउमा घाम तापिरहेको अवस्थामा देखिएको थियो। बस्ती नजिकै बाघ देखिएपछि स्थानीयवासीले आफ्नो र परिवारको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन्।
यसअघि पनि सोही क्षेत्रमा पाटेबाघ देखिएको थियो। केही दिनअघि दिउँसै कैलाश चन्द्र गिरीको घरअगाडि रहेको नहरमा बाघ देखिएको स्थानीयले बताएका छन्। त्यसअघि चमनचोक नजिक निकुञ्जले जडान गरेको क्यामेरामा समेत पाटेबाघको तस्बिर कैद भएको थियो।
बाघको गतिविधि देखिएपछि सम्बन्धित निकायले ड्रोनमार्फत निगरानी गरेको थियो। तर, ड्रोनबाट बाघ फेला नपरेपछि बाघलाई बस्तीबाट टाढा धपाउन ल्याइएको हात्ती फिर्ता पठाइएको थियो। त्यसपछि पनि सोही क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयवासी थप सशंकित बनेका छन्।
बस्ती नजिकै पटक-पटक पाटेबाघ देखिनु सामान्य विषय नभएको स्थानीयको भनाइ छ। बाघको गतिविधि बढ्दै जाँदा कुनै पनि बेला मानवीय क्षति हुन सक्ने जोखिमप्रति उनीहरूले चिन्ता व्यक्त गरेका छन्। सम्भावित दुर्घटना हुनुअघि नै सम्बन्धित निकायले प्रभावकारी निगरानी, आवश्यक सुरक्षा प्रबन्ध र बाघको अवस्थाबारे यथार्थ जानकारी सार्वजनिक गर्नुपर्ने देखिन्छ।
बेलडाँडीका स्थानीयवासीको समस्या पाटेबाघमा मात्र सीमित छैन। निकुञ्ज आसपासका बस्तीमा हात्ती, गैँडा, चितल, बँदेल, नीलगाई, बाँदरलगायत वन्यजन्तुका कारण किसानले खेतीपातीमा क्षति बेहोर्नुपरेको गुनासो गर्दै आएका छन्। वन्यजन्तु तथा चराचुरुङ्गीबाट हुने क्षतिसँगै बस्तीमा जंगली जनावरको आवागमन बढ्दा स्थानीयको दैनिकीसमेत प्रभावित हुने गरेको छ।
खेती जोगाउने चिन्तासँगै घरबाहिर निस्कँदा, खेतबारीमा काम गर्दा र बालबालिकालाई विद्यालय पठाउँदासमेत वन्यजन्तुको डर पाल्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ। विशेषगरी उखुबारीजस्ता अग्ला बाली भएका क्षेत्रमा वन्यजन्तु लुकेर बस्न सक्ने भएकाले जोखिमप्रति थप सतर्कता आवश्यक देखिन्छ।
वन्यजन्तुको संरक्षणसँगै मानव जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नु पनि सम्बन्धित निकायको महत्त्वपूर्ण जिम्मेवारी हो। त्यसैले निकुञ्ज प्रशासन, स्थानीय सरकार, सुरक्षाकर्मी तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गरी बाघको नियमित निगरानी, जोखिमयुक्त क्षेत्रमा सचेतनामूलक सूचना, आवश्यक सुरक्षा व्यवस्था र दीर्घकालीन मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका उपाय अघि बढाउनुपर्ने देखिन्छ।
वन्यजन्तु संरक्षण र स्थानीय नागरिकको सुरक्षित जीवनबीच सन्तुलन कायम गर्दै बेलडाँडीवासीलाई त्रासमुक्त वातावरणमा बाँच्न सक्ने अवस्था निर्माण गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ।





















Discussion about this post