बेलडाँडी। स्थानीय सरकार सञ्चालनका लागि जनप्रतिनिधिको शैक्षिक योग्यता कति महत्त्वपूर्ण हुन्छ ? के साक्षरता मात्रले पालिकाको नेतृत्व गर्न पर्याप्त हुन्छ ? यतिबेला बेलडाँडी गाउँपालिकामा यस्तै प्रश्न र बहसलाई एउटा फेसबुक स्टाटसले सतहमा ल्याएको छ।
बेलडाँडी गाउँपालिका-३ खैरिघाट घर भई हाल डोटीमा शिक्षण पेसामा आबद्ध शिक्षक हरिशचन्द्र जोशीले आफ्नो फेसबुक वालमा राखेको स्टाटसले शिक्षित र सक्षम जनप्रतिनिधि छनोटको विषयमा नयाँ बहस सिर्जना गरेको छ।
जोशीले आगामी स्थानीय तह निर्वाचनमा आफू गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने मात्र नभई वडा नेतृत्वका लागि समेत कम्तीमा कक्षा १२ उत्तीर्ण गरेका व्यक्तिलाई उम्मेदवार बनाउने सोच सार्वजनिक गरेका छन्। निर्वाचनमा पराजित भए पनि निजी कलेज, विद्यालय, ट्युसन सेन्टरमा अध्यापन गरेर वा व्यापार व्यवसायमार्फत जीवनयापन गर्न सक्ने आत्मविश्वास रहेको उनको भनाइ छ।
उनको स्टाटसले स्थानीय सरकारको नेतृत्वमा शैक्षिक चेतना, प्रशासनिक बुझाइ, निर्णय क्षमता र विषयवस्तुको ज्ञान आवश्यक रहेको सन्देश दिएको देखिन्छ। विशेषगरी विकास निर्माण, बजेट विनियोजन, योजना छनोट, कानुनी प्रक्रिया र नागरिकका समस्याबारे निर्णय लिन जनप्रतिनिधि आफैँ विषयवस्तु बुझ्न सक्ने हुनुपर्ने बहसलाई यसले अगाडि सारेको छ।
स्थानीय तहमा जनप्रतिनिधिले दैनिक रूपमा प्रशासनिक, आर्थिक, प्राविधिक तथा कानुनी विषयसँग जोडिएका निर्णय लिनुपर्ने हुन्छ। यस्ता विषयमा पर्याप्त बुझाइ नहुँदा कर्मचारी वा अन्य व्यक्तिको सल्लाहमा बढी निर्भर हुनुपर्ने अवस्था आउन सक्छ। त्यसैले शैक्षिक योग्यता मात्र होइन, विषय बुझ्ने क्षमता, अध्ययनशीलता, विवेक र निर्णय गर्ने आत्मविश्वास पनि नेतृत्वका महत्त्वपूर्ण आधार हुन्।
बेलडाँडी गाउँपालिकाको वर्तमान नेतृत्वमा गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना पूर्वशिक्षक हुनुहुन्छ। उहाँले शिक्षण पेसा छाडेर स्थानीय तहको नेतृत्वमा आउनुभएको हो। अर्कोतर्फ उपाध्यक्ष शान्ति नाथको शैक्षिक पृष्ठभूमिलाई लिएर पनि स्थानीयस्तरमा नेतृत्वको शैक्षिक योग्यताबारे चर्चा हुने गरेको छ।
यद्यपि जनप्रतिनिधिको क्षमता शैक्षिक प्रमाणपत्रले मात्र निर्धारण गर्दैन। अनुभव, इमानदारी, जनताप्रतिको उत्तरदायित्व, दूरदर्शिता र काम गर्ने इच्छाशक्ति पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। तर बदलिँदो समय, जटिल प्रशासनिक प्रक्रिया र बढ्दो नागरिक अपेक्षाका बीच शिक्षित, अध्ययनशील र विषयवस्तु बुझेर निर्णय लिन सक्ने नेतृत्वको आवश्यकता भने झन् बढ्दै गएको छ।
जोशीको स्टाटसले उठाएको मूल प्रश्न पनि यही हो, स्थानीय सरकारको नेतृत्वमा पुग्ने व्यक्तिले केवल पद सम्हाल्ने होइन, योजना बुझ्ने, नीति पढ्ने, कानुन जान्ने र जनताको हितमा विवेकपूर्ण निर्णय लिन सक्ने क्षमता राख्नुपर्छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै बेलडाँडीमा योग्य, शिक्षित, जिम्मेवार र दूरदर्शी जनप्रतिनिधि छनोटको बहसले स्थान पाउन थालेको देखिन्छ। अन्ततः जनताले उम्मेदवारको शैक्षिक प्रमाणपत्रसँगै उसको सोच, इमानदारी, कार्यक्षमता र सार्वजनिक उत्तरदायित्वलाई समेत मूल्याङ्कन गर्नु आवश्यक देखिन्छ।





















Discussion about this post