काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमै प्रवेश गरी पत्रकारमाथि गरिएको सोधपुछ तथा धरपकडको घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
रास्वपाको सचिवालय बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएको हस्तक्षेपलाई गम्भीर रूपमा लिँदै घटनामा संलग्न व्यक्तिको पहिचान गरी शीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो।
सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले संविधानप्रदत्त मौलिक अधिकारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रास्वपाले पूर्ण सम्मान गर्ने बताए। उनले विधिको शासन र मानवअधिकारको पक्षमा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताका विषयमा कुनै पनि सम्झौता नहुने बताए।
पत्रकारमाथि सोधपुछ गर्ने नाममा समाचार कक्षमै प्रवेश गरी गरिएको गतिविधि गलत भएको रास्वपाको ठहर रहेको प्रवक्ता खरेलले स्पष्ट पारे। उनले उक्त घटना किन, कसरी र कसको संलग्नतामा भयो भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताए।
प्रधानमन्त्री कार्यालयबाट घटनामा संलग्नता नरहेको धारणा सार्वजनिक भएको विषयसमेत सचिवालय बैठकमा छलफल भएको उनले जानकारी दिए।
‘पत्रकार तथा सञ्चारकर्मीमाथि सोधखोज गर्ने नाममा समाचार कक्षमै प्रवेश गरेर गरिएको गतिविधिबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका छौँ,’ प्रवक्ता खरेलले भने, ‘कारबाहीमा कुनै पनि ढिलासुस्ती नगरी शीघ्र परिणाम देखाउन सरकारलाई आग्रह गरेका छौँ।’
रास्वपाले आफूले अंगीकार गरेको सामाजिक लोकतन्त्रमा प्रेस स्वतन्त्रता अक्षुण्ण रहने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमाध्यमको स्वतन्त्रता र पत्रकारको निर्भीक पत्रकारिताको अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिएको छ।






















Discussion about this post