काठमाडौँ। समाचार लेखेकै आधारमा पत्रकारहरूलाई नियन्त्रणमा लिने तथा समाचारको खोजी गरिरहेका सञ्चारकर्मीमाथि सञ्चारगृहमै पुगेर प्रहरीले गरेको धरपकडप्रति विभिन्न सञ्चारसम्बद्ध संघसंस्था तथा राजनीतिक दलहरूले विरोध जनाएका छन्।
नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल तथा विभिन्न पत्रकारसम्बद्ध संगठनहरूले सञ्चारगृहमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कार्यशैलीप्रति आपत्ति जनाउँदै घटनाको भर्त्सना गरेका छन्।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत सञ्चारगृहभित्रै प्रहरी पुगेर पत्रकारमाथि धरपकड गरिनु प्रेस स्वतन्त्रता र पत्रकारिताको व्यावसायिक सुरक्षामाथिको गम्भीर प्रश्न भएको उनीहरूको धारणा छ। समाचारप्रति कुनै असहमति वा गुनासो भए कानुनी प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा सञ्चारकर्मीलाई त्रसित बनाउने शैली उचित नहुने उनीहरूले बताएका छन्।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार लेखेकै आधारमा नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न आधार भएको उल्लेख गर्दै सञ्चारकर्मीको पेसागत मर्यादा, स्रोतको गोपनीयता र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा जोड दिइएको छ।
समाचार सामग्रीप्रति विमति भए स्थापित कानुनी तथा न्यायिक प्रक्रियाबाट निरूपण गर्नुपर्ने उल्लेख गर्दै रास्वपाले पत्रकारमाथि दबाब, त्रास र धरपकड सिर्जना गर्ने गतिविधि स्वीकार्य नहुने जनाएको छ।
सञ्चारगृहमै पुगेर पत्रकारमाथि गरिएको धरपकडको घटनाले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र राज्यका निकायहरूको जवाफदेहिताबारे पुनः बहस सिर्जना गरेको छ। पत्रकारितालाई निर्भीक, स्वतन्त्र र मर्यादित बनाउन सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने माग उठेको छ।





















Discussion about this post