कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ झिलमिला फाँटा खेलमैदानमा स्व. शंकरराज चिमाडी मेमोरियल क्रिकेट कप प्रतियोगिता आयोजना हुने भएको छ।
शुभदीपावलीको अवसर पारेर आगामी २०८३ कात्तिक २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन आयोजकले इच्छुक क्रिकेट टोलीलाई आह्वान गरेको छ।
प्रतियोगितामा विजेता टोलीले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द सिरिजअन्तर्गत ट्रफी र नगद २ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर तथा अनुशासित टोलीलाई जनही नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई समेत ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीले ५ हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ। टोली दर्ता गर्ने अन्तिम मिति कात्तिक २१ गते बेलुकासम्म तोकिएको छ। खेलतालिका सोही दिन सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार प्रत्येक टोलीमा एक जना व्यवस्थापक र एक जना प्रशिक्षकसहित बढीमा १७ जना रहने व्यवस्था गरिएको छ। प्रतियोगिता टेनिस बलबाट खेलाइनेछ भने खेल अन्तर्राष्ट्रिय क्रिकेट नियमअनुसार सञ्चालन गरिनेछ।
प्रतियोगितामा सहभागी हुने खेलाडीले खेल सुरु हुनुअघि अनिवार्य रूपमा मैदानमा उपस्थित हुनुपर्ने, अनुशासित र स्वच्छ खेल भावना प्रदर्शन गर्नुपर्ने तथा आयोजकले तोकेका नियम पालना गर्नुपर्नेछ।
स्वर्गीय शंकरराज चिमाडीको स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






















Discussion about this post