बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा युवाहरूको सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १५ दिने डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ।
बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण बि.क.को सभापतित्वमा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो। तालिममा २५ जनाको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रानाले युवाहरूको सीप, क्षमता र दक्षता अभिवृद्धिका लागि गाउँपालिकाले गरेको लगानी खेर नजाने विश्वास व्यक्त गरे। उनले आजको समय प्रविधिको समय भएकाले बदलिँदो परिस्थिति र प्रतिस्पर्धात्मक युगसँग अघि बढ्न युवाहरूले नयाँ प्रविधि र सीप सिक्न आवश्यक रहेको बताए।
डिजिटल मार्केटिङ अहिलेको समयमा अत्यन्तै महत्त्वपूर्ण र सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष रानाले यसको माध्यमबाट व्यापार, व्यवसाय तथा स्थानीय उत्पादनको प्रचारप्रसारलाई सहजै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने धारणा राखे। एउटा मोबाइल र इन्टरनेटको प्रयोगबाट समेत आफ्ना उत्पादन तथा व्यवसायलाई धेरै मानिससम्म चिनाउन सकिने अवस्था बनेको भन्दै उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे।
अध्यक्ष रानाले तालिममा सिकेको ज्ञान प्रमाणपत्रमा मात्र सीमित नराखी त्यसलाई रोजगारी, स्वरोजगार र उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिए। सहभागी युवाहरूले आफ्नै व्यवसाय सञ्चालन गर्ने, स्थानीय उत्पादनको डिजिटल माध्यमबाट बजारीकरण गर्ने तथा अरूलाई समेत सीप सिकाएर रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
यस्तै बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले कृषि, पर्यटन, स्थानीय उत्पादन तथा साना व्यवसायका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै ती सम्भावनालाई डिजिटल माध्यमबाट बजारसम्म पुर्याउन सके स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन ल्याउन सकिने बताए। युवाहरूलाई समयअनुसार दक्ष र आत्मनिर्भर बनाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा व्यावहारिक तालिमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता उनले व्यक्त गरे।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण बि.क.ले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै डिजिटल मार्केटिङको महत्त्व र आवश्यकता पनि बढ्दै गएको बताए। तालिमबाट प्राप्त ज्ञान तथा सीपले सहभागीहरूलाई डिजिटल मार्केटिङको क्षेत्रमा सम्भावना खोज्न, आफ्नो व्यवसाय विस्तार गर्न तथा स्वरोजगार र रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
काठमाडौँ स्कुल अफ इन्टरनेट मार्केटिङ प्रा.लि.को आयोजना तथा बेलडाँडी गाउँपालिकासँगको सहकार्यमा गत असोज २५ गतेदेखि कात्तिक १५ गतेसम्म तालिम सञ्चालन गरिएको हो। तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई समापन कार्यक्रममा प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
तालिममा सहभागी २५ जनाले डिजिटल मार्केटिङसम्बन्धी आधारभूत ज्ञान तथा सीप हासिल गरेका छन्। स्थानीय स्तरमा उपलब्ध स्रोत, उत्पादन र व्यवसायलाई डिजिटल माध्यमबाट प्रवर्द्धन गर्न सक्ने जनशक्ति उत्पादनमा तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
युवाहरूलाई प्रविधिसँग जोड्दै सीप, क्षमता, उद्यमशीलता र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले सहभागीहरूका लागि रोजगारी तथा स्वरोजगारका नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास लिइएको छ।






















Discussion about this post