भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि भारतद्वारा २ खर्ब ४० अर्ब रुपैयाँको आर्थिक प्याकेज घोषणा

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, राहत तथा विकासका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक प्याकेज घोषणा गरेका छन् ।

सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको उच्चस्तरीय द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त आर्थिक सहयोग घोषणा गरेका हुन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा विकासका काममा उक्त रकम खर्च गरिने जनाइएको छ । नेपालले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणसहित विभिन्न पूर्वाधार परियोजना सञ्चालनका लागि भारतसँग आर्थिक सहयोग माग्दै आएको थियो । प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नेपालले अनुदान तथा सहुलियतपूर्ण ऋणसमेत गरी दुई अर्ब अमेरिकी डलर बराबरको सहयोग प्रस्ताव गरेको थियो ।

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय भारत भ्रमणको स्वागत गर्दै केही महिनाअघि संयुक्त राष्ट्रसंघमा विश्वकै कान्छा प्रधानमन्त्रीका रूपमा शाहले गरेको सम्बोधनले उनको दूरदृष्टि झल्काएको बताएका थिए ।

यसैबीच, मोदी र शाहले अयोध्या–जनकपुर जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । उक्त रेल सेवाले भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्नेछ ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले सडक, रेल तथा विद्युत्सम्बन्धी विभिन्न पूर्वाधार परियोजनाको उद्घाटन गर्नुका साथै केही नयाँ परियोजनाको शिलान्याससमेत गरेका छन् ।

त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री शाहलाई भारतको ‘पीएम गति शक्ति’ योजनाबारे जानकारी गराएका छन् । सन् २०२१ अक्टोबर १३ मा सुरु गरिएको उक्त योजनाले पूर्वाधार विकासका परियोजनालाई एकीकृत रूपमा अघि बढाउने र विभिन्न परियोजनाबीच प्रभावकारी समन्वय कायम गर्ने उद्देश्य राखेको छ ।

नेपालमा एउटा पूर्वाधार परियोजनाको कामले अर्को परियोजनामा असर पार्ने समस्या देखिँदै आएको सन्दर्भमा नेपालले यसअघि भारतसँग उक्त योजनाबारे जानकारी तथा अनुभव आदानप्रदान गर्न इच्छा व्यक्त गरेको थियो ।

सोमबार हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तामा दुवै देशका उच्च अधिकारी तथा प्रतिनिधिमण्डल सहभागी थिए । वार्तापछि विभिन्न समझदारी तथा परियोजनासम्बन्धी कार्यक्रम सम्पन्न भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित