डडेल्धुराका लालमणी पन्त लगातार तीन वर्ष उत्कृष्ट करदाता घोषित

डडेल्धुरा । डडेल्धुराका सफल उद्योगी तथा व्यवसायी लालमणी पन्त निजी क्षेत्रतर्फ जिल्लामै सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा लगातार तीन आर्थिक वर्ष सम्मानित भएका छन्।

अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित जि.वी.एल. हार्डवेयर प्रालिका सञ्चालक पन्तलाई आन्तरिक राजस्व कार्यालय डडेल्धुराले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो।

आन्तरिक राजस्व कार्यालय डडेल्धुराको सेवा क्षेत्रभित्र निजी क्षेत्रतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा पन्त सम्मानित भएको कार्यालय प्रमुख गगनबहादुर शाहीले जानकारी दिए।

सोमबार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा डडेल्धुराबाट निर्वाचित सांसद डा. ताराप्रसाद जोशीले पन्तलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।

पन्त आर्थिक वर्ष २०७९/०८०, २०८०/०८१ र २०८१/०८२ गरी लगातार तीन आर्थिक वर्ष उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका हुन्। उनको यो उपलब्धिले व्यवसायमा इमानदारी, पारदर्शिता र राज्यप्रतिको उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

लगातार तीन वर्ष उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेपछि पन्तले यसलाई आफ्नो व्यावसायिक जीवनको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै सफलताको श्रेय ग्राहक, शुभेच्छुक तथा व्यवसायमा आबद्ध कर्मचारीलाई दिएका छन्।

‘ग्राहकहरूले गर्नुभएको विश्वास, माया र सहयोगकै कारण यो सफलता सम्भव भएको हो। यसका लागि सम्पूर्ण ग्राहक तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ उनले भने।

व्यवसाय सञ्चालन गर्नु नाफा कमाउने माध्यम मात्र नभई राज्यप्रतिको दायित्व पूरा गर्ने अवसरसमेत भएको उल्लेख गर्दै पन्तले प्रत्येक व्यवसायीले इमानदारीपूर्वक कर तिर्नुपर्ने बताए।

‘व्यवसाय सञ्चालनसँगै राज्यलाई इमानदारीपूर्वक कर तिर्नु हाम्रो दायित्व हो। कर तिर्ने संस्कारले राष्ट्र निर्माण र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ,’ उनले भने।

करदातालाई सम्मान र प्रोत्साहन गर्दै थप हौसला प्रदान गरेकोमा उनले आन्तरिक राजस्व कार्यालय डडेल्धुराप्रति आभारसमेत व्यक्त गरेका छन्।

लगातार तीन आर्थिक वर्ष उत्कृष्ट करदाताको सम्मान प्राप्त गर्नु पन्तको व्यक्तिगत उपलब्धि मात्र नभई निजी क्षेत्रमा इमानदारीपूर्वक व्यवसाय सञ्चालन गर्ने र राज्यप्रतिको दायित्व निर्वाह गर्ने व्यवसायीका लागि पनि प्रेरणादायी उदाहरण बनेको छ। कर तिर्नुलाई बोझका रूपमा नभई राष्ट्र निर्माणमा आफ्नो योगदानका रूपमा लिनुपर्ने सन्देशसमेत उनको सफलताले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित