काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रह गरेका छन्। काठमाडौँमा सोमबार आयोजित ‘ग्लोबल मनी विक’ लाई सम्बोधन गर्दै उनले राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट बचत गर्ने बानीको विकास गर्नुपर्ने बताए।
उनले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्यान्डेटको अलावा वित्तीय समावेशितालाई एउटा महत्त्वपूर्ण एजेन्डा बनाएको उल्लेख गर्दै, यसले व्यक्तिगत सुरक्षा र समाजलाई स्वच्छ बनाउन सहयोग पुर्याउने बताउँदै विद्यार्थीदेखि प्रत्येक व्यक्तिले वित्तीय साक्षरतामा ध्यान दिनु आवश्यक भएको बताएका छन्।
गभर्नर अधिकारीले वित्तीय साक्षरता पाठ्यक्रममा समावेश गर्नको लागि राष्ट्र बैंकले स्कुलको पाठ्यक्रमसँग समन्वय गर्दै कार्य गरिरहेको जानकारी दिए। उनले वित्तीय बचत र बजेटिङको महत्त्वमा जोड दिँदै, आफ्नो खर्चका लागि क्षमता मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए।
उनले राष्ट्र बैंकले देशभर वित्तीय साक्षरता अभियान चलाइरहेको र यसलाई थप व्यापक बनाउन लागि परेको बताएका छन्।
Discussion about this post