बेलडाँडी । अरूलाई न्याय दिलाउने सपना बोकेर एलएलबी अध्ययनमा रहेकी सम्झना भट्ट आफैं आज न्यायको खोजीमा छिन् । कानून पढ्दै गरेकी किशोरी सम्झनाको निधन बालविवाहपछिको मानसिक, पारिवारिक र सामाजिक उत्पीडनका कथाहरूको ज्वलन्त उदाहरण बनेको छ ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालकी १७ वर्षीया सम्झना भट्ट आइतबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनको मृत्युले समाजमा गहिरो प्रश्न उठाएको छ-कानुन जान्ने र पढ्ने परिवारले समेत किन बालविवाह गराए ?
हालको कानुनी प्रावधानअनुसार नेपालमा महिला र पुरुष दुबैको विवाहको न्यूनतम उमेर २० वर्ष तोकिएको छ । तर सम्झनाको विवाह भएको बेला उनी मात्र साढे १६ वर्षकी थिइन् । त्यो विवाह स्वतः बदर ठहरिने कानुनी व्यवस्था रहे पनि त्यसको उल्लङ्घन गरिएको थियो ।
विवाहपछिको जीवन सम्झनाको लागि नयाँ अध्याय नभई पीडाको यात्रा बन्न पुग्यो । माइती पक्षका अनुसार उनी निरन्तर मानसिक र शारीरिक हिंसाको सिकार थिइन् । ‘मेरी छोरीलाई बाँच्न नै दिएनन्,’ सम्झनाका पिता भोजराज भट्ट भन्छन्, ‘पारिवारिक कलह र मानसिक पीडाले उनलाई थिचिरहेको थियो ।’
सम्झनाको मृत्युअघि मात्रै प्रहरीले सम्झना र उनका पति पवन भट्टलाई मिलापत्र गराएर घर फर्काएको थियो । तर भोलिपल्टै उनी मृत फेला परिन् । घटनापछि पवन भट्ट, उनका बुवा हरिदत्त भट्ट र आमा किरण भट्टलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
सम्झनाको पवन भट्टसँग सम्बन्ध महेन्द्रनगरमा पठनपाठनकै क्रममा सुरु भएको थियो । किशोरी अवस्थामा ‘प्रेम’ भनेर विकास भएको सम्बन्ध शारीरिकसम्म पुग्दा प्रहरीसमक्ष उजुरी गरेको थियो । त्यसपछि सामाजिक बदनामको डरले सम्झनाको परिवार विवाह गर्न राजी भए ।
विवाह नगरिए कानुनी कारबाही हुने डर पवनलाई देखाएपछि पवनले सहमति जनाए पनि सम्बन्ध सुमधुर बन्न सकेन । घटनाको पछाडि बालविवाह, शारीरिक शोषण, सामाजिक दबाब र असंवेदनशील पारिवारिक निर्णयहरू जडका रूपमा देखिन्छन् ।
सम्झना र पवन दुबै शिक्षित परिवारबाट थिए । सम्झना आफैँ कानून पढिरहेकी थिइन् भने पवन उच्च शिक्षा पढिरहेका थिए। तर सामाजिक व्यवहार, निर्णय र सोचाई भने शिक्षाको मर्मभन्दा निकै टाढा देखिएको छ ।
सम्झनाको शव हाल महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। समाजले सत्य तथ्य बाहिर ल्याउन प्रहरी प्रशासनलाई दबाब दिइरहेको छ। ‘घटनाको निष्पक्ष छानबिन होस्, दोषी उम्किन नपाउन्,’ भन्ने आवाज गाउँदेखि सहरसम्म गुन्जिरहेको छ ।
सम्झनाको मृत्यु केवल एक आत्महत्या होइन, यो नेपालको सामाजिक र कानुनी पाटोको एउटा कालो दाग पनि हो। बालविवाहलाई उन्मूलन गर्न कानुन छ, तर व्यवहारमा जब शिक्षित भनिने परिवारहरू नै कानूनको खिल्ली उडाउँछन्, त्यसबेला सम्झनाको मृत्यु जस्तो घटनाले हामीलाई झस्काइदिन्छ ।
आज सम्झना छैनन्, तर उनको अधुरो सपना भने न्याय माग्दैछ-सजाय माग्दैछ ती सबैलाई, जसले उनको नाबालिग अवस्थाको प्रयोग गरे, विवाह गराए, यातना दिए र अन्ततः जीवन नै लिइदिए ।






















Discussion about this post