काठमाडौँ । आज कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी (प्रबोधिनी वा ठूली एकादशी) देशभर श्रद्धा र भक्ति भावसहित मनाइँदै छ। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनदेखि चार महिनासम्म योगनिद्रामा रहनुभएका भगवान् विष्णु आजकै दिन जाग्नुहुन्छ भन्ने मान्यता छ। यही दिनलाई देवउठनी वा देवोत्थान एकादशी पनि भनिन्छ।
विष्णु भगवानलाई चार महिनाको योगनिद्राबाट उठाउनका लागि भक्तजनले घण्टा, शङ्ख, मृदङ्गजस्ता वाद्यसहित मंगलध्वनि बजाउँदै निम्न श्लोक उच्चारण गरी जागाउँछन्–
“उत्तिष्ठोत्तिष्ठ गोविन्द त्यज निद्रां जगत्पते,
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत्।”
भगवान् विष्णुको जागरणसँगै चतुर्मासमा रोकिएका विवाह, व्रतबन्ध, गृहप्रवेश र अन्य माङ्गलिक कार्यहरूको शुभ मुहूर्त सुरु हुने धार्मिक विश्वास छ। यसै दिन घर–आँगनमा रोपिएको तुलसीको विधिपूर्वक विवाह गरिन्छ। तुलसी मठलाई गोबर र माटोले लिपपोत गरी सेता, रातो र पहेंलो वस्त्र तथा फूलमालाले सिँगारिन्छ र विष्णुको प्रतीक लिङ्गोसँग तुलसीको विवाह सम्पन्न गरिन्छ।
व्रतालुले यस दिन फलाहारमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्छन्। शास्त्रमा उल्लेख अनुसार यो व्रतले हजार अश्वमेध र सय राजसूय यज्ञ बराबरको पुण्य प्रदान गर्छ। दिवङ्गत पितृहरूको स्मृतिमा खोलामा फूल अर्पण गरी ‘पितृभ्य स्वधा नमः’ उच्चारण गर्ने चलन पनि छ। यसरी पितृलाई समर्पण गर्दा व्रत, दान र पुण्यको फल तिनीहरूलाई प्राप्त हुने र परिवारमा शान्ति, समृद्धि र आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ।
शास्त्रअनुसार व्रतालुले श्रीहरिलाई षोडशोपचार विधिबाट पूजा गर्नुपर्छ। रातभर हरिनाम सङ्कीर्तन गर्ने चलन छ, जसले भगवान् विष्णु अत्यन्त प्रसन्न हुने विश्वास गरिएको छ। हरिबोधनी एकादशीका व्रत, दान, स्नान र पूजा सबै अक्षय फलदायक मानिन्छ।
पूजाविधिः
-
बिहान स्नान गरी व्रतको सङ्कल्प गर्ने
-
भगवान् विष्णुलाई जल, अक्षता, फूल, तुलसीदल र दीप अर्पण गर्ने
-
‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्रको जप गर्ने
-
दिनभर फलाहार वा निर्जला व्रत बस्ने
-
राति भजन, कीर्तन वा जागरण गर्ने
-
भोलिपल्ट द्वादशीका दिन पारण गरी व्रत खोल्ने
हरिबोधनी एकादशीले भगवानको जागरणसँगै भक्तिलाई पुनः जागृत गराउने, माङ्गलिक कार्यहरूको शुभारम्भ गराउने र परिवारमा शान्ति, समृद्धि तथा सौख्य ल्याउने विश्वास छ।






















Discussion about this post