बेलडाँडी । बेलडाँडी गाउँपालिकाको मुटु मानिने चवन्नी बजारमा नक्साअनुसारको सडक खुलाउन वा नक्साभित्र परेर भत्काइएका संरचनाको क्षतिपूर्ति दिनुपर्ने मागसहित चवन्नी बजारका व्यापारीहरू गाउँपालिकामा पुगेका छन् ।
बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानालाई भेट्दै व्यापारीहरूले एउटै सडकमा बसेर कसैले सजिलै व्यापार गर्न पाउने र कसैले आफ्नो संरचना भत्काएर सडकछेउमा पुग्नुपर्ने अवस्था अन्यायपूर्ण भएको गुनासो गरेका छन् । उनीहरूले कि नक्साअनुसारको सडक पूरै खुलाइनुपर्ने, नत्र नक्साभित्र परेका संरचना हटाएकाहरूलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका हुन् ।
व्यापारीहरूको भनाइ छ, “एउटै सडकमा बसेका हामीमध्ये कोही मजाले व्यापार गरिरहेका छन्, कोही पुरपुरो समातेर बस्न बाध्य छौँ । यस्तो विभेद स्वीकार्य हुँदैन । सबैलाई समान व्यवहार हुनुपर्छ ।” उनीहरूले नक्सामा परेको सडक सबैका लागि समान रूपमा खाली गराउन जोड दिएका छन् ।
चवन्नी बजारका करिब ८० प्रतिशत व्यापारी र चवन्नी बजार व्यवस्थापन समितिले गत वर्ष नै नक्साको पुरै बाटो खोल्नुपर्ने माग गर्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि गाउँपालिकाले सडक खोल्ने अभियान थालेको थियो । तर अभियानले ठूला व्यापारी र राजनीतिक पहुँच भएकाहरूको संरचना हटाउनुपर्ने अवस्था आएपछि हस्ताक्षर गर्नेहरूमध्ये केही पछि हटेको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार नक्साअनुसार सडक खुलाउँदा बेलडाँडी गाउँपालिका अध्यक्ष स्वयं, वडा नं. २ र वडा नं. ३ का वडाध्यक्षहरूको संरचना समेत परेकाले उनीहरूले नैतिकताको आधारमा आफ्ना संरचना हटाएका थिए । आम व्यापारी र साना व्यवसायीहरूले पनि नक्साभित्र परेका संरचना हटाए तर केही राजनीतिक पहुँच भएका व्यक्तिहरूले भने अझै अटेर गर्दै आएको आरोप स्थानीयले लगाएका छन् ।
स्थानीयवासीहरू भन्छन्, “नक्साको सडक अतिक्रमण गर्नु भनेको भोलि दुर्घटनालाई निम्तो दिनु हो । सडक फराकिलो हुनुपर्छ, सार्वजनिक सम्पत्ति कसैले निजीकरण गर्न मिल्दैन । जो कोही होस्, ऐन सबैका लागि समान हुनुपर्छ ।”
अहिले चवन्नी बजारमा कालोपत्रे सडक निर्माणको तयारी भइरहेका बेला नक्साअनुसार क्षेत्र पूर्ण रूपमा खाली भएमा पालिकाले अझ व्यवस्थित र दीर्घकालीन योजना बनाउन सक्ने व्यापारीहरूको भनाइ छ । “सानालाई ऐन, ठूलालाई चैन हुनु हुँदैन,” भन्दै उनीहरूले पटक-पटक सूचना जारी गर्दा पनि अटेरी गर्नेहरूलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।
यस विषयमा गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले छिट्टै निकास निकाल्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, “सडकको नक्साभित्र मेरो पनि संरचना थियो । मैले नैतिकताको आधारमा आफैँ डोजर लगाएर हटाएँ । आज नभए भोलि, एकदिन त नक्साभित्रका संरचना हटाउनै पर्छ । त्यसैले सबैले स्वेच्छाले, स्वच्छ नैतिकता देखाउँदै सहयोग गरिदिनुस् ।”
सार्वजनिक हित, सुरक्षित सडक र समान व्यवहारको मागसहित उठेको चवन्नी बजारको आवाज अहिले बेलडाँडीको विकास र न्यायसँग जोडिएको सन्देशका रूपमा अघि बढेको स्थानीयहरूको भनाइ छ ।























Discussion about this post