कञ्चनपुर । दोधारा-चाँदनी नगरपालिका-१ मा नदीको हिलोमा फसेर मरेको बाघको बच्चा कुनै आकस्मिक घटना होइन । यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय प्रमुख चन्द्रशेखर चौधरीको नेतृत्व असफलताको प्रत्यक्ष प्रमाण हो । उद्धार गर्न सकिने अवस्थामा पनि निर्णय लिन नसक्दा एउटा संरक्षित वन्यजन्तु मर्न बाध्य भयो, तर निकुञ्ज प्रशासन अझै पनि बहानामै अडिएको छ ।
“बाघिनी त्यहीँ थियो, माउले नै लैजाला भनेर पर्खियौं” : निकुञ्ज प्रमुख चन्द्रशेखर चौधरीको यो अभिव्यक्ति संरक्षण विज्ञान होइन, गैरजिम्मेवारीको खुला स्वीकारोक्ति हो । चिसोले कठ्याङ्ग्रिँदै, हिलोमा फसेको बच्चालाई हेरेर बस्नु कुन राष्ट्रिय निकुञ्जको प्रोटोकल हो ? कि नदीमा ‘पर्खेर मर्न दिनु’ नै उद्धार रणनीति हो ?
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेन्द्र चन्द्र डी.सी.ले निकुञ्जको लापरवाहीलाई खुलेर औँल्याएका छन् । “सेफ द टाइगरको नारा लगाउने, तर उद्धार गर्नुपर्ने बेला कुर्सी जोगाउने,” भन्ने उनको आरोप भावनात्मक होइन, तथ्यमा आधारित छ । उद्धारका लागि तयार वन टोलीलाई “यो तपाईंको एरिया होइन” भन्दै रोक्नु भनेको बाघको ज्यानभन्दा कार्यालयको सिमाना ठूलो ठान्नु हो ।

यहाँ प्रश्न स्पष्ट छ, चन्द्रशेखर चौधरीले नेतृत्व गरेको निकुञ्ज कार्यालय वन्यजन्तु जोगाउन बनेको हो कि जिम्मेवारी पन्छ्याउन ?
निकुञ्जका पशु चिकित्सक आभास श्रेष्ठले पोस्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने बताएका छन् । तर बच्चा मरेपछि कारण खोज्नु र मर्न नदिनुबीचको फरक बुझ्न नसक्ने संयन्त्रले अब के संरक्षण गर्ला ? बच्चा चिसोले कठ्याङ्ग्रिएको कुरा थाहा हुँदाहुँदै पनि उद्धार नगरिनु पोस्टमार्टमको विषय होइन, प्रशासनिक असफलताको विषय हो ।
अब अर्को गम्भीर खतरा बाँकी नै छ, बच्चा मरेको थाहा नपाएको बाघिनी गाउँ पस्न सक्छ । यदि उसले मानवीय क्षति ग¥यो भने जिम्मेवारी कसले लिन्छ ? चन्द्रशेखर चौधरी ? शुक्लाफाँटा निकुञ्ज ? कि फेरि अर्को विज्ञप्ति ?
संरक्षणका नाममा गाडी, भत्ता, तालिम र बजेट लिने निकाय एउटा सामान्य उद्धार गर्न असफल हुनु लाजमर्दो मात्रै होइन, आपराधिक लापरवाही हो । बाघको बच्चा हिलोमै मर्दा पनि निकुञ्ज प्रमुख कुर्सीमै सुरक्षित बस्नु नै आजको सबैभन्दा ठूलो विडम्बना हो ।
यदि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख चन्द्रशेखर चौधरीले संकटको घडीमा निर्णय लिन सक्दैनन् भने, उनलाई “संरक्षण प्रमुख” भनिरहनुको अर्थ छैन भन्दै स्थानीयले चर्को विरोध गरिहेका छन् । संरक्षण भाषण, नारा र रिपोर्टमा होइन, ज्यान जोगाउने काममा देखिनुपर्छ ।
आज हिलोमा बाघको बच्चा म¥यो, भोलि गाउँमा मान्छे मरे भने पनि के फेरि यही बहाना दोहोरिन्छ ? बाघ मर्ने निकुञ्ज चाहिएको होइन, बाघ बचाउने नेतृत्व चाहिएको हो भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।
























Discussion about this post