कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा उपाध्यक्ष शान्ति नाथसँग सम्बन्धित विवाद चर्किँदै जाँदा कर्मचारीहरूले आजदेखि अनिश्चितकालीन रूपमा सेवा अवरुद्ध गरेका छन्।
कर्मचारीहरूका अनुसार आइतबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै उपाध्यक्ष नाथले अमर्यादित तथा असभ्य शब्द प्रयोग गर्दै गालीगलौज गरेको आरोप लागेको छ। सोही घटनापछि कर्मचारीहरूले आपत्ति जनाउँदै चेतावनी दिएका थिए, र माग सम्बोधन नभएपछि सोमबारदेखि कार्यालयको नियमित कामकाज ठप्प पारिएको हो।
कर्मचारीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृतको आत्मसम्मान तथा पदीय मर्यादामा ठेस पुग्ने व्यवहार भएको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ। उनीहरूले समस्या समाधान नभएसम्म आधारभूत स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द रहने जानकारी गराएका छन्।
“सेवा प्रवाहमा पर्न गएको असुविधाप्रति गाउँपालिका कर्मचारी परिवार क्षमाप्रार्थी छ,” विज्ञप्तिमा उल्लेख छ।
उपाध्यक्ष नाथ भने विगतदेखि नै विभिन्न विवादमा तानिँदै आएको स्थानीय स्रोतहरूको भनाइ छ। उनीमाथि यसअघि १२ लाख रुपैयाँको चेक मागेको, विद्यालयको खाताबाट ३ लाख रुपैयाँ आफ्नै नाममा राख्न लगाएको, नक्साको सडक क्षेत्रमा तीनतले घर निर्माण गरेको तथा १५ शैयाको अस्पताल निर्माणमा अवरोध गरेको जस्ता तमाम आरोपहरू लाग्दै आएका छन्।
यस्तै, करिब दुई महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। गाउँपालिकाका अनुसार उक्त मुद्दामा विशेष अदालतबाट सफाइ पाएको जानकारी प्राप्त भएको छ।
सफाई पछि उनले जे गर्दा नि हुन्छ जस्तो मनोवृत्ति भएको स्थानीयको आरोप छ ।




















Discussion about this post