मुगु । हिमाली जिल्ला मुगुको पूर्वी भेगस्थित मुगुम कार्मारोङ गाउँपालिका मा बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न जाँदै गरेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार विभिन्न यार्सा पाटन क्षेत्रमा चोरी गरी यार्सागुम्बा संकलन गर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा पातारासी गाउँपालिका वडा नम्बर १ र २ का एक बालिकासहित २४ जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलिया ले बिना अनुमति वन तथा पाटन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूमाथि निगरानी कडा पारिएको बताए।
उनले यसअघि पनि विभिन्न प्रहरी चौकीको समन्वयमा ठूलो संख्यामा यार्सा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरी सम्बन्धित स्थानमा फर्काइएको जानकारी दिए। यसपटक पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर बयान लिइने र हाजिरी जमानीमा छोडिने तयारी गरिएको प्रहरीले जनाएको छ।
हालसम्म मुगुम कार्मारोङ गाउँपालिका ले यार्सागुम्बा संकलन खुलाउनेबारे कुनै आधिकारिक सूचना जारी गरेको छैन। गाउँपालिकाले भने आधिकारिक रूपमा पाटन नखुल्दै चोरीका उद्देश्यले वन क्षेत्रमा प्रवेश नगर्न आग्रह गर्दै सूचना जारी गरिसकेको छ।
यार्सागुम्बा संकलनको समय नजिकिँदै जाँदा मुगुका विभिन्न पाटन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाका दुई दर्जनभन्दा बढी वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य यार्सागुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालिकोट, अछामलगायत जिल्लाका साथै भारतबाट समेत सङ्कलक तथा व्यापारी पुग्ने गर्दछन्।
दुर्गम हिमाली क्षेत्रका स्थानीयका लागि यार्सागुम्बा प्रमुख आम्दानीको स्रोत मानिन्छ। धेरै परिवारले वर्षभरिको घरखर्च यार्सागुम्बा बिक्रीबाट जुटाउने गरेका छन्।



















Discussion about this post