बेलडाँडीका किसानलाई कृषि यन्त्र तथा सामग्री हस्तान्तरण

बेलडाँडी । बेलडाँडी गाउँपालिका–२ मा आलु खेतीलाई व्यावसायिक, आधुनिक र उत्पादनमुखी बनाउने उद्देश्यले कृषकहरूलाई विभिन्न कृषि यान्त्रिकीकरण सामग्री हस्तान्तरण गरिएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको स्थानीय तह विशेष पकेट क्षेत्र विस्तार (आलु) कार्यक्रम मार्फत किसानहरूलाई आवश्यक कृषि उपकरण तथा उन्नत बीउ उपलब्ध गराइएको हो।

सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना तथा कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरु विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रमको सभापतित्व सिद्ध बैजनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष क्षितिज भट्टले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सहकारी कार्यालय प्रमुख सरद चन्द्र पाण्डेय गर्नु भएको थियो ।

कृषि ज्ञान केन्द्र कञ्चनपुर र सिद्ध बैजनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लागत साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत कृषकहरूलाई आलुको उन्नत बीउ, १४ थान साना सिँचाइ सेट, ५ थान पावर टिलर, ४ थान मिनी टिलर, ३ थान रोटाभेटर तथा २५ थान स्प्रे ट्याङ्की वितरण गरिएको छ। यी सामग्रीले खेतीको लागत घटाउने, श्रम बचत गर्ने तथा उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले कृषि क्षेत्रलाई आधुनिक, उत्पादनमुखी र आत्मनिर्भर बनाउने प्रदेश सरकारको स्पष्ट लक्ष्य रहेको बताउनुभयो। कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढेमा उत्पादन लागत घट्ने र उत्पादकत्वमा उल्लेखनीय वृद्धि हुने उल्लेख गर्दै उहाँले किसानको आयस्तर उकास्न सरकार निरन्तर प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।

बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले कृषि क्षेत्रको विकास बिना ग्रामीण अर्थतन्त्र सुदृढ हुन नसक्ने बताउँदै यस्ता कार्यक्रमले स्थानीय उत्पादन बढाउनुका साथै युवापुस्तालाई कृषिप्रति आकर्षित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरुले कृषकको आवश्यकता र स्थानीय सम्भावनालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। आधुनिक कृषि उपकरणको प्रयोगले समय, श्रम र लागत बचत हुनुका साथै उत्पादनको गुणस्तरमा सुधार आउने भएकाले उपलब्ध गराइएका सामग्रीको प्रभावकारी उपयोग गर्न कृषकहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रमका सभापति क्षितिज भट्टले सहकारी संस्थाले कृषकको हितलाई केन्द्रमा राख्दै विभिन्न निकायसँग सहकार्य गरेर कृषि प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । कृषकको उत्पादन वृद्धि, व्यवसायिकता विकास तथा आर्थिक सशक्तीकरणका लागि आगामी दिनमा पनि सहकारीले कृषकमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै किसानहरुको सहज पहुचँका लागि चिस्यान केन्द्र पनि छिट्टै संचालनमा आउने जानकारी गराउनु भयो ।

कार्यक्रममा सहभागी कृषकहरूले प्राप्त कृषि सामग्रीले खेतीपातीलाई थप सहज, व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। स्थानीय तह विशेष पकेट क्षेत्र विस्तार (आलु) कार्यक्रमले बेलडाँडी क्षेत्रमा आलु खेतीको व्यवसायीकरण, उत्पादन वृद्धि तथा किसानको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित