बेलडाँडी । परिवार नियोजन सेवाको पहुँच, गुणस्तर तथा प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले रौतेली बिचवा स्वास्थ्य चौकीमा परिवार नियोजन कार्यक्रमको सूक्ष्म योजना गोष्ठी सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न गोष्ठी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर खड्काको अध्यक्षतामा भएको थियो। कार्यक्रममा परिवार नियोजन सेवासम्बन्धी वर्तमान अवस्था, सेवाको पहुँच विस्तार, लक्षित समुदायसम्म प्रभावकारी सूचना प्रवाह तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको सञ्चालन शाखा प्रमुख अरबिन्द्र शाहीले गरेका थिए भने कार्यक्रमको उद्देश्यबारे स्वास्थ्यकर्मी निलम भट्टले प्रकाश पारेकी थिइन्। सहजीकरण आरती पाण्डेय र जयराज भट्टले गरेका थिए।
गोष्ठीमा शाखा उपप्रमुख मिना थापा, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले परिवार नियोजन सेवाले मातृ तथा शिशु स्वास्थ्य सुधार, सुरक्षित मातृत्व प्रवर्द्धन तथा परिवारको आर्थिक-सामाजिक अवस्थालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले समुदायस्तरसम्म यसको प्रभावकारी पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
गोष्ठीबाट स्थानीय आवश्यकता र चुनौतीलाई आधार बनाएर आगामी दिनमा परिवार नियोजन कार्यक्रमलाई अझ प्रभावकारी, पहुँचयोग्य र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।





















Discussion about this post