कञ्चनपुर – पछिल्लो समय कञ्चनपुरमा शसस्त्र प्रहरीको व्यवहार प्रति स्थानीयवासी आक्रोशित बन्दै गएका छन् । सीमाको सुरक्षामा ध्यान दिनुको साटो साना व्यापारी तथा गरिब नागरिकलाई अनावश्यक दुःख दिने कार्य भइरहेको आरोप लाग्दै आएको छ ।
हालै भारतबाट स्वदेश फर्किएका ३२ जना नेपाली नागरिकहरू कासको थाल, तामाका भाँडा तथा मन्दिरका लागि घण्टा जस्ता सामग्री लिएर ब्रह्मदेव नाकामा प्रवेश गरेका थिए । तर, सीमामा खटिएका शसस्त्र प्रहरीले ती सामग्रीलाई तस्करीको समान भन्दै जफत गरेको थियो । पीडितहरूका अनुसार, ती सामग्रीहरू व्यक्तिगत प्रयोजनका लागि ल्याइएका थिए, तर शसस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाइदिएको छ ।
पीडितहरू आफ्नो सामान फिर्ताको माग गर्दै ब्रह्मदेव (विओपी) पुगेका थिए । तर, इन्स्पेक्टर दिल बहादुर नेपालीले सामान भन्सार कार्यालयमा बुझाइसकेको भन्दै त्यहाँबाट लिन आग्रह गरेका थिए । पीडितहरूले प्रहरी इन्स्पेक्टरले “हैसियत र औकात के हो“ भन्ने अपमानजनक शब्द प्रयोग गरेको आरोप लगाए । यद्यपि, ब्रह्मदेव विओपी इन्चार्ज दिल बहादुर नेपालीले भने आफूले यस्तो कुनै टिप्पणी नगरेको दाबी गरेका छन् ।
यस्तै, बेलडाँडीका चार जना बिहेको सामान ल्याउन पुनर्वास पारी बसही बजार पुनर्वास कारगिल डाँडा विओपी पुगेका थिए । डिउटीमा रहेका सुरक्षाकर्मीले सामान्य रूपमा सामान ल्याउन स्वीकृति दिएपछि उनीहरू कपडा खरिद गरेर नेपाल फर्किंदै थिए । तर, सशस्त्र प्रहरीले तिनै सामान जफत गरी भन्सारमा बुझाइदियो । त्यो समान बिहेको लागि हो भन्दा समेत सशस्त्र प्रहरी कञ्चनपुर प्रमुख एसपीलाई जानकारी गराइयो तर पनि उनीहरुले वेवास्ता गर्दै गरिबको पेटमा लातहान्दै भन्सार पुर्याइयो । कसैलाई काख कसैलाई पाख गर्ने शसस्त्रको यस्तो व्यवहारले स्थानीयवासीहरू अत्यन्तै आक्रोशित बनेका छन्।
स्थानीयहरूका अनुसार, गृहमन्त्रीकै गृह जिल्लामा ठूला तस्करहरूलाई सहुलियत दिँदै साना व्यापारी र गरिब नागरिकहरूलाई दुःख दिने प्रवृत्ति मौलाउँदै गएको आरोप छ । व्यापारीहरू सशस्त्र प्रहरीसँग सेटिङ मिलाएर ठूला परिमाणमा सामान ओसारपसार गरिरहँदा व्यक्तिगत प्रयोजनका सामान ल्याउने नेपालीहरूलाई भने कानुनी कारबाहीको नाममा दुःख दिने गरिएको आरोप छ ।
“सुरक्षा जस्तो संवेदनशील जिम्मेवारीलाई व्यवसायिक सोच राखेर प्रयोग गरियो भने सीमा क्षेत्रका नागरिकहरू सधैं पीडित हुनेछन्,“ एक स्थानीय बासिन्दाले भने । सशस्त्र प्रहरीको यस्ता गतिविधिहरूको सत्यतथ्य छानबिन गरी सीमा सुरक्षालाई प्रभावकारी बनाउन स्थानीयहरू सरकारसँग माग गरिरहेका छन् ।




















Discussion about this post