बेलडाँडी, कञ्चनपुर । बेलडाँडी गाउँपालिका–२ वडा कार्यालयमा कार्यसम्पादनको शैली र समयपालनको विषयलाई लिएर वडा अध्यक्ष नारदसिंह उर्याल र वडा सचिव कमला बडालबीच देखिएको मतभेद खुला आरोप–प्रत्यारोपमा परिणत भएको छ। यस आन्तरिक द्वन्द्वले सेवा लिन आउने स्थानीयवासीहरूलाई अन्योलमा पारेको छ।
वडा अध्यक्ष उर्यालले एक सञ्चारमाध्यममार्फत सार्वजनिक रूपमा कर्मचारीहरूको ढिलासुस्ती र कामप्रति बेवास्ता भएको आरोप लगाउँदै भने, “म हिँडेरै पौने ९ बजे कार्यालय पुग्छु तर कर्मचारीहरू भने समयमा कार्यालय आउँदैनन्। सेवाग्राहीका काम समयमा सम्पन्न हुँदैनन्, पटक–पटक आग्रह गर्दा पनि सुधार देखिएको छैन।”
उनले थपे, “म जनताको सेवामा समर्पित छु, तर यो तीन वर्ष सेवाका नाममा रोएर बित्यो। बाँकी दुई वर्ष पनि उही अवस्थाको दोहोरिन सक्ने चिन्ताले मन भारी भएको छ।”
तर अर्कोतर्फ वडा सचिव कमला बडालले अध्यक्षको दाबीलाई गलत ठहर गर्दै आफू समयमै कार्यालय पुग्ने गरेको र सेवाप्रवाहमा कुनै ढिलासुस्ती नगरेको जिकिर गरिन्। “समयमै कार्यालय आउँछु। कतिपय दिन केही मिनेट ढिला हुन सक्छ, तर सेवाग्राहीको काम समयमा गरिएकै छ,” सचिव बडालले भनिन्, “अध्यक्षज्यूले अपेक्षा गरेजस्तो काम गर्न नसकेका आधारमा ममाथि आरोप लाग्नु स्वाभाविक हो। तर उहाँले लगाउनु भएका सबै आरोपहरू निराधार छन्।”
स्थानीयबासीहरूले अध्यक्ष र सचिवबीचको सहकार्य अभावलाई दुःखद् मानेका छन्। सेवाप्रवाह सहज हुनुपर्ने ठाउँमा आन्तरिक खिचातानीले सामान्य नागरिक नै प्रभावित भइरहेको गुनासो उनीहरूको छ। “जनताको काम गर्ने ठाउँमा तालमेल नहुँदा असर हामी सेवाग्राहीलाई पर्ने हो,” एक सेवाग्राहीले गुनासो गरे।
समयपालन र जिम्मेवारीमा देखिएको यो विवादले सरकारी कार्यशैलीप्रति नै प्रश्न उठाएको छ। जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय अभावले सशक्त स्थानीय शासनको सपना ओझेलमा पर्न नदिन बेलैमा सम्बोधन आवश्यक देखिएको छ।






















Discussion about this post