नयाँ वर्ष २०८३ को पहिलो दिनसँगै सुदूरपश्चिम प्रदेशमा परम्परागत रूपमा बिसु पर्व उल्लासका साथ मनाइँदैछ । सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान बोकेको यो पर्व विशेष गरी एकआपसमा सिस्नो खेल्दै, शुभकामना साटासाट गर्दै र विभिन्न सांस्कृतिक गतिविधि गर्दै मनाउने गरिन्छ ।
हरेक वर्ष वैशाख १ गते मनाइने बिसु पर्वका अवसरमा घर बाहिर रहेका आफन्तहरू पनि गाउँ फर्किने चलन रहेको छ, जसले पारिवारिक र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ ।
यस पर्वमा विभिन्न मिठा-मिठा परिकार खाने, सिस्नो लगाउने र एकअर्कामा सिस्नो पानी छ्याप्ने प्रचलन रहिआएको छ । धार्मिक विश्वासअनुसार बिसुका दिन सिस्नो लगाउँदा शरीरमा रहेका नकारात्मक तत्वहरू नष्ट हुने र वर्षभरि विभिन्न रोग तथा विषालु जीवजन्तुबाट जोगिने मान्यता रहेको छ ।
बिहानै नुहाएर सिस्नो लगाउने परम्परासँगै देवर-भाउजू, नन्द-भाउजू, साली-भिनाजु तथा आफन्तबीच रमाइलो गर्दै सिस्नो खेल्ने चलन विशेष आकर्षणका रूपमा रहेको छ ।
यसैगरी, बिसु पर्वका अवसरमा विभिन्न समुदायमा लौरो नचाउने, बाघ-भालुजस्ता जंगली जनावरको अभिनय गर्ने तथा देउडा नाच प्रस्तुत गर्ने जस्ता सांस्कृतिक गतिविधिहरू पनि गरिन्छन्, जसले यस पर्वलाई अझ जीवन्त र रंगीन बनाउने गर्दछ ।
यसरी नयाँ वर्षकै पहिलो दिन मनाइने बिसु पर्वले सुदूरपश्चिमको सांस्कृतिक विविधता, परम्परा र सामाजिक एकतालाई झल्काउने महत्वपूर्ण पर्वका रूपमा स्थापित भएको छ ।






















Discussion about this post