बेलडाँडी । बेलडाडी गाउँपालिका-३ बैबाहका गणेश चौधरी करिब दुई वर्षअघि काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परेपछि पूर्ण रूपमा असक्त जीवन बाँच्न बाध्य भएका छन्। दीर्घ उपचारपछि पनि सामान्य अवस्थाले साथ नदिँदा दैनिक कामकाजसम्म परिवारको सहयोगमा निर्भर रहनुपर्ने स्थितिले चौधरी परिवार झनै कठिनाइमा थियो।
यही पीडाबोध गर्दै युवा समाजसेवी तथा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले व्यक्तिगत पहलमा चौधरी परिवारलाई महत्वपूर्ण सहयोग पुर्याएका छन्। पन्तले गणेश चौधरीकी पत्नी श्रीदेवी चौधरीलाई एक थान ह्विलचेयर र नगद ११ हजार रुपैयाँ हस्तान्तरण गर्दै परिवारको दुःखमा साथ दिएको संदेश दिएका छन्।
सहयोग ग्रहण गर्दा श्रीदेवीले आँसु झार्दै पन्तसहित सहयोगमा संलग्न सबैप्रति हार्दिक आभार व्यक्त गरिन्। उक्त सहयोग साइकल यात्री भरत विक्रम शाहको समन्वयमा सम्पन्न भएको पन्तले जानकारी गराए।
सहयोग प्राप्त भएपछि चौधरी परिवारले अब दैनिक सञ्चालन केही सहज हुने अपेक्षा व्यक्त गरेको छ। कठिन जीवनसँग जुधिरहेका गणेश चौधरीका लागि यो सहयोग आशाको नयाँ किरण बनेको स्थानीयहरूले बताएका छन्।





















Discussion about this post