बेलडाँडी, १७ माघ– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालिकिच उपभोक्ता समितिको छैटौं कार्यकालका लागि अध्यक्षको रूपमा भीम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । थापा, जो २०५६ सालको प्रस्तावित मध्यवर्ती समितिको अध्यक्ष देखि लगातार समितिको अध्यक्षको रूपमा कार्यरत छन् । संरक्षण कार्यमा गरेको अतुलनीय योगदानका कारण हरेक कार्यकालमा सर्वसम्मत चयन हुदै आएका छन् ।
थापाको नेतृत्वमा समितिले निकुञ्ज र स्थानीय समुदाय बीच समन्वय, संरक्षण, र दिगो विकासको मार्गमा महत्त्वपूर्ण कदम चाल्दै आएको छ । थापा ५ कार्यकाल सर्वसम्मत र १ कार्यकाल चुनावबाट निर्वाचित भएका थिए । उनले संरक्षणका क्षेत्रमा पुर्याएको योगदानले उनलाई स्थानीय समुदाय र समितिका सदस्यहरूबाट विश्वास प्राप्त भएको छ ।
नयाँ कार्यकालका लागि समितिको उपाध्यक्षमा भागरथी शाही, सचिवमा वीर बहादुर वडवाल, कोषाध्यक्षमा मदन राज भट्ट चयन भएका छन् । सदस्यहरूमा मनोज बोहरा, सक्रराम साउद, भागरथी ऐर, ईश्वरी भट्ट, रतना विक, कालु सिंह बिष्ट, तौला राना, लक्ष्मी लुहार र तारा धामी चयन भएको समितिका सचिव वीर बहादुर बडुवालले जानकारी गराउनु भयो ।
थापाले यस कार्यकालको शुरुवातमा भने, “हामी निकुञ्जको जैविक विविधता र पारिस्थितिकीको संरक्षणमा ध्यान दिन्छौं, र त्यस्तै स्थानीय समुदायका जीवनस्तर र आवश्यकताहरूलाई पनि अनिवार्य रूपमा ध्यानमा राख्नेछौं । हामीले दुवै पक्षलाई सशक्त र सहयोगी बनाउने योजनामा काम गर्नेछौं भन्दै सबैप्रति आभार प्रकट गरेका थिए ।“ आफ्नो नेतृत्वमा निकुञ्जको संरक्षण र स्थानीय समुदायको समृद्धिका लागि दुई पक्षलाई समान प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समितिको मुख्य उद्देश्य भनेको निकुञ्ज प्रशासन र स्थानीय समुदाय बीचको सशक्त सेतुको भूमिका निर्वाह गर्नु हो। यसले दुवै पक्षका चासो र आवश्यकताहरूलाई सँगै समेटेर, पारदर्शिता र सहकार्यको माध्यमबाट प्रबन्धन कार्यहरूमा सुधार ल्याउने काम गर्दछ ।
समितिले जैविक विविधता र पारिस्थितिकीको संरक्षणमा अत्यधिक ध्यान पुर्याउने छ, साथै स्थानीय समुदायलाई प्राकृतिक स्रोतहरूको दिगो उपयोग र संरक्षणमा सक्रिय साझेदार बनाउन प्रोत्साहित गर्नेछ ।
यसका अतिरिक्त, समितिले निकुञ्ज र स्थानीय समुदाय बीच सन्तुलन कायम राख्दै, आपतकालीन स्थितिहरू जस्तै आगलागी, विपत्ति, वा महामारीको समयमा राहत र पुनर्निर्माण कार्यमा पनि समन्वय गर्नेछ ।
समितिले संरक्षण र समुदायको समृद्धिका बीच सन्तुलन कायम राख्ने प्रयास गर्नेछ । यसका लागि, स्थानीय समुदायको आवाजलाई महत्वपूर्ण स्थान दिँदै, उनीहरूको हक र अधिकारको रक्षा गर्नेछ । यसले स्थानीय समुदायलाई संरक्षणका योजनामा सशक्त बनाउँछ र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नेछ ।



















Discussion about this post