कञ्चनपुर, माघ २७ – कञ्चनपुरमा एक निजी विद्यालयको बसको ठक्करबाट दुई वर्षीय नाबालकको मृत्यु भएको छ। बेलौरी नगरपालिका–८, कलकत्तास्थित ज्ञान साधन बोडिङ्ग स्कुलको बसले बेलडाँडी गाउँपालिका–३, खैरिघाटका सुशान्त कुँवरलाई ठक्कर दिएर फरार भएको हो ।
घटना आइतबार साँझ ५ बजे भएको हो । विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा सडकमा खेलिरहेका नाबालकलाई स्कुल बस (सुपप्र ०१००१ ख ३६१०) ले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले जानकारी दिए । दुर्घटनापछि चालकले बस विद्यालयमै पु¥याएका थिए ।
बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर बससहित फरार भएका चालक प्रहरीको नियन्त्रणमा रातीको ८ बजे सम्म आइसकेका छैनन् । तर विद्यालय पक्षलाई बेलडाँडी ईप्रका बोलाइएको छ । स्थानीय बासिन्दाले भने यस घटनालाई जानीजानी गरिएको दाबी गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
बेलडाँडी गाउँपालिका–३ का वडाध्यक्ष दुर्गा चौधरीले ठक्करपछि बालकलाई अस्पताल नलगी बाटोमै छाडेर बस फरार हुनु अमानवीय भएको बताए। उनले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
यस दुर्घटनाले कुँवर परिवार शोकमा डुबेको छ। स्थानीय प्रशासनले घटनाको अनुसन्धान अघि बढाएको छ भने मृतकका आफन्त र स्थानीयबासीले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।






















Discussion about this post