बेलडाँडी – लालझाडी खेलकुद समितिको आयोजनामा माघ १६ गतेदेखि सुरु भएको तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि बेलडाँडीले हात पारेको छ। लालझाडी-५ को देखतभुली इटाहा चारपाते युवा क्लबको खेलमैदानमा सम्पन्न प्रतियोगितामा बेलडाँडी-५ झिलमिलाले २० टिमलाई पछि पार्दै उपाधि जितेको आयोजकले जनाएको छ।
तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत दुई वटा फाइनल खेल भएका थिए। भेट्रान तर्फ कृष्णपुर-३ ले लालझाडी-४ लाई १ गोलले पराजित गर्दै उपाधि जित्यो। विजेता कृष्णपुर-३ ले नगद ११,०००, ट्रफी र एउटा खसी प्राप्त गर्यो भने उपविजेता लालझाडी-४ देखतभुली जाइले एउटा खसी र ट्रफीमा चित्त बुझाउनु पर्यो।
यस्तै, युवा तर्फ झिलमिला युवा समाज बेलडाँडी-५ ले ट्राइबेकरमा (४-२) गोलले लालझाडी-४ लाई पराजित गर्दै उपाधि जित्यो। विजेता टिम झिलमिला युवा समाजले नगद १,२१,१२१, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिम लालझाडी-४ देखतभुली जाइले नगद ७१,१७१, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
लालझाडी खेलकुद समितिका अध्यक्ष प्रकाश रानाले सभ्य तरिकाले खेल प्रदर्शन गर्ने सम्पूर्ण खेलाडी तथा खेलप्रेमीहरूलाई धन्यवाद व्यक्त गर्दै बेलडाँडीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेकोमा आभार प्रकट गरे। उनले यस प्रतियोगिताले थप खेलाडी उत्पादनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
यस्तै बेलडाँडी वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडकाले समेत खेलाडीहरुलाई बधाई तथा धन्वयावद ज्ञापन गर्दै । खेलकुद प्रवद्धनमा टेवा पुर्याउने थप कार्य गर्ने जनाए ।
समारोहका प्रमुख अतिथि तथा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले कञ्चनपुर मात्रै नभई नेपालभर खेलाडी उत्पादनमा योगदान गर्ने उद्देश्यले आगामी वर्षमा बजेट वृद्धि गर्ने बताए। खेलकुदले लागु औषध तथा दुर्व्यसनबाट बच्न मद्दत गर्ने भएकाले सबैले खेलकुदको विकासमा जुट्नुपर्ने धारणा व्यक्त गरे।
बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले खेलमैदान तथा खेल सामग्रीको अभावका बाबजुद बेलडाँडीका खेलाडीहरूले उपाधि जित्नु गौरवको विषय भएको बताए। उनले बेलडाँडीमा खेल मैदान निर्माण तथा प्रशिक्षकको व्यवस्था गर्ने प्रतिबद्धता जनाए। उनले सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै चाँडै बेलडाँडीको खेलमैदान निर्माण हुने विश्वास व्यक्त गरे।
प्रतियोगितामा युवा तर्फ २० र भेट्रान तर्फ ८ गरी २८ टिम सहभागी थिए। माघ १६ गते उद्घाटन भएको खेल माघ २६ गते सम्पन्न भएको हो। प्रतियोगिता लालझाडी गाउँपालिकाको मुख्य प्रवर्द्धन, इटाहा चारपाते युवा क्लब र लालझाडी गाउँपालिका वडा नं. ५ कार्यालयको समन्वय तथा सहयोगमा सम्पन्न भएको थियो।






















Discussion about this post