बेलडाँडी । एउटा गाउँ, जहाँ फुटबल खेल्ने मैदान छैन । सुविधा छैन, प्रशिक्षकको छायाँसमेत छैन । जहाँ खेल भनेको पिडुलाभन्दा माथि पुगेपछि बिर्सिनुपर्ने सपना हो । त्यही गाउँ, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ स्थित जीतबहादुर शाहको गरिब घरबाट एक होनहार छोरा जन्मिए, जसले आफ्नै मेहनत, आँट र सपना बोकेर नेपाली फुटबलमा तहल्का मच्चाउन थाले– उनको नाम हो, धिरेन्द्रबहादुर शाह ठकुरी ।
२२ वर्षे शाहले आफ्नो जीवनको आरम्भ गाउँको धुलाम्मे खेतका गडा, मोजाको बल र खाली पेटबाट सुरु गरे । फुटबल उनका लागि केवल खेल थिएन, त्यो त सपना थियो, जिन्दगीको एउटा उद्देश्य थियो । र, त्यो सपना पछ्याउँदै उनी २०७८ सालमा काठमाडौं उत्रिए– टुसाल युवा क्लबबाट ’बी’ डिभिजन लिगमा डेब्यु गर्न ।
टुसालमा उनको अनुभव सुखद रहेन। ६० हजारको सम्झौतामा आएको यात्रा पाँच हजार लिएर खिन्न मनसाथ गाउँ फर्कने पीडाले टुङ्गियो । तर, शाहको आँखा अझै सपनातर्फ थियो, त्यसैले केही समय गाउँमै बसेर उनी फेरि काठमाडौं फर्किए ।
यसपटक उनको हात थामे नेपाली यु–२० टोलीका गोलकिपर जियारथ शेखले । सरस्वती युथ क्लबमा उनले भित्र्याएका शाहले दुई खेलमै क्लबलाई जित दिलाउँदै नयाँ उत्साह र आशाको झिल्को दिएका थिए । बाँसबारीविरुद्ध २–१ र नयाँ बस्तीविरुद्ध १–० को जीतको नायक थिए उनी ।
तर, सपनाको त्यो उडान एकाएक थालिएको छ । एउटै समयमा दुई फरक क्लबसँग सम्झौता गरेको आरोप लगाएर एन्फाले उनलाई लिग खेल्न नदिएको छ । न छानबिन, न प्रमाण, केवल विरोधी क्लबको उजुरी र एकपछि अर्को निर्णयमा ढिलासुस्ती ।
एन्फा, टुसाल र नयाँ बस्ती युथ क्लबबीचको जटिल खेलमा शाह एक सामान्य खेलाडी होइन, एक बलिको बोका बनेका छन् । टुसालले दुई वर्षअघिको सम्झौता ब्युँताएर उनलाई रोकेको छ । तर, त्यो सम्झौता न त फिफा कनेक्टमा दर्ता गरिएको छ, न एन्फामा । बरु सरस्वतीले त फिफा कनेक्ट र एन्फा दुवैमा उनको दर्ता गरिसकेको छ ।
एन्फाको नियमावलीमा यस्तो अवस्थामा के गर्ने भन्ने कुरा अस्पष्ट छ । तर, नियमको अस्पष्टतालाई प्रयोग गरेर एउटा होनहार खेलाडीलाई रोक्नु– त्यो पनि बिना प्रमाण– यो केवल अन्याय होइन, एक जघन्य खेल राजनीतिको झल्को हो ।
सरस्वती युथ क्लबका अध्यक्ष उत्तमराज भण्डारी भन्छन्, “उनी त अहिले डिप्रेसनमै छन् । न राम्रोसँग खान्छन्, न सुत्न सक्छन् । फुटबल नै छाड्ने सोचमा पुगेका छन् ।” शाह जसले मैदानमा तीन गोल हानेर क्लबलाई जित दिलाएका थिए, अहिले फुटबलबाटै विमुख हुन लागेका छन् ।
शाहको जीवन संघर्ष प्रेरणादायी मात्र होइन, हाम्रो प्रणालीप्रतिको प्रश्न पनि हो । खेलाडी उत्पादन नगर्ने राज्य, संरक्षण नगर्ने संस्था र राजनीतिक रूपमा चलाइने खेलले गर्दा धिरेन्द्र निराश बन्छन् ।
बेलडाँडीको धुलो खेल मैदानबाट सुरु भएको उनको यात्रा अहिले नेपालको फुटबल नीति र नियतिको कठघराबाट गुज्रिरहेको छ । तर, धीरेन्द्रका गाउँलेहरू, उनको परिवार, प्रशिक्षकहरू, फ्यानहरू— सबैको एउटै आवाज छ, “उसलाई खेल्न देउ । उसले साँचिकै मेहनत गरेको छ ।”
धिरेन्द्रका बुबा जीतबहादुर शाहका अनुसार, “ऊ सानैदेखि बल लिएर भाग्थ्यो । कहिलेकाहीं स्कुल जाने बेला पनि बल बोक्थ्यो।” त्यही बानी आज उसको पहिचान बनेको छ। गाउँले भन्छन्, “गाउँले यत्रो मान्छे भएकोमा हामी गर्व गर्छौं । तर उसैलाई मैदान छिर्न नदिने ? यत्रो अन्याय ?”
धिरेन्द्र शाहको जन्म भले दुर्गम बेलडाँडीमा भयो, तर उनको प्रतिभा देशव्यापी छ । यो कुरा उनी मैदानमा गरेको प्रदर्शनले पुष्टि गरिसकेको छ । आज बेलडाँडी गाउँका बासिन्दा उनीमाथिको अन्याय देखेर आक्रोशित छन् । उनीहरू भन्छन्– “खेल नदिए, चानचुने खेलाडी होइन । राजनीति गरेर होनहार दबाउने यो रीत बदलिनै पर्छ ।“
सरस्वती युथ क्लबले आवश्यक सबै प्रक्रिया पु¥याइसकेको छ । तर, एन्फा, जसको जिम्मेवारी निष्पक्ष निर्णय गर्नु हो, त्यो चाहिँ मौन छ । एनएसएलको चकचकी हेर्ने फुर्सद छ, तर एक होनहारको सपना जोगाउने समय छैन ।
धिरेन्द्र शाहको कथा यहाँ सकिँदैन । यो त सुरुआत हो– एउटा चेतना जगाउने, एउटा प्रणाली हल्लाउने, एउटा शाहका पक्षमा उभिने आवाज बन्ने सुरुआत हो ।
यो कुनै एउटा खेलाडीको मात्र कथा होइन । यो हजारौँ दुर्गम गाउँका सपना बोकेका धिरेन्द्रहरूको कथा हो । एन्फा, टुसाल र नयाँ बस्तीले तीन अंकको लागि एक खेलाडीको भविष्यमा राजनीति गर्न मिल्दैन । बेलडाँडीको भुइँमा दौडिँदै आएको त्यो बालक आज राष्ट्रिय चर्चामा छ । उसलाई अब रोक्न मिल्दैन । राजनीति गरेर होइन, न्याय दिएर शाहलाई मैदानमा फर्काउनु अहिलेको प्राथमिकता हुनुपर्छ ।






















Discussion about this post