काठमाडौं । काठमाडौँ उपत्यकामा डेरा खोज्ने बहाना बनाएर महिलामाथि सुनका गहना लुट्ने गिरोह सक्रिय रहेको पाइएको छ । विशेषगरी चन्द्रागिरि क्षेत्रमा श्रृंखलाबद्ध रूपमा भएको लुटपाटपछि प्रहरीले गिरोहका सदस्यहरूलाई पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका–१३ स्थित मितेरी चोकमा ७० वर्षीया वृद्धामाथि मोटरसाइकलमा आएका दुई युवकले डेरा सोध्ने बहानामा कुरा गर्दै अचानक गलाबाट सुनको सिक्री थुतेर फरार भएका थिए । सो घटना २०८२ चैत १९ गते दिउँसो भएको हो ।
यसअघि चैत १२ गते पनि चन्द्रागिरि–६ मातातीर्थ फनपार्क क्षेत्रमा २९ वर्षीया महिलाको गलाबाट डेढ तोला सुनको सिक्री लुटिएको थियो । दुवै घटनामा एउटै शैली प्रयोग भएको देखिएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो ।
त्यसपछि वैशाख ६ गते चन्द्रागिरि–७ घुमाउने क्षेत्रमा पनि यस्तै प्रकृतिको अर्को घटना दोहोरिएको थियो । लगातार घटनापछि प्रहरीले सक्रियता बढाउँदै वैशाख ११ गते तारकेश्वर नगरपालिका–४ पैयुँटारबाट ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेमा नुवाकोटका सविन तामाङ, विमल तामाङ, सुजन तामाङ र सतिश अमात्य रहेका छन् । साथै, थप अनुसन्धानका क्रममा सुमन तामाङ र विजय तामाङलाई पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गिरोहले काठमाडौँका स्वयम्भु, कीर्तिपुर, बालाजुको तिनपिप्ले, सुकेधारा, थानकोट, मातातीर्थ, नैकाप घुमाउने र मितेरी चोकलगायत ७ स्थानमा महिलालाई लक्षित गरी सिक्री लुटपाट गरेको खुलेको छ ।
लुटपाटका क्रममा उनीहरूले चोरीका मोटरसाइकल प्रयोग गर्ने र केही पर पुगेपछि त्यहीँ छाडेर फरार हुने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूको साथबाट चोरीका दुई मोटरसाइकल र लुटिएको करिब १ तोला सुन बरामद गरेको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार दिउँसो १२ बजेदेखि ५ बजेसम्म कम भीडभाड हुने समय छानेर गिरोह सक्रिय हुने गरेको पाइएको छ । उनीहरूले विशेषगरी एक्लै हिँडिरहेका र वृद्ध महिलालाई लक्षित गर्ने गरेका थिए ।
डीएसपी एलिजा गिरीको नेतृत्वमा करिब २५ दिनको अनुसन्धानपछि गिरोह पक्राउ परेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















Discussion about this post