काभ्रेको दाप्चा माविमा निजी विद्यालयबाट आफ्ना सन्तान फिर्ता ल्याएर समुदायकै विद्यालयमा भर्ना गराउने तीन शिक्षक सम्मानित

काभ्रे । सामुदायिक विद्यालयप्रतिको भरोसा केवल बोलीमा सीमित नराखी व्यवहारमै उतार्ने साहसी निर्णय गरेका काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका– ०८, दाप्चास्थित श्री दाप्चा माध्यमिक विद्यालयका तीन जना शिक्षक–शिक्षिका हिजो शुक्रबार एक विशेष समारोहबिच सम्मानित भएका छन ।

शिक्षक लक्ष्मी श्रेष्ठ, रुषा श्रेष्ठ र कविता पाठकले आफ्ना नानीबाबुहरूलाई निजी तथा बोर्डिङ स्कुलहरूबाट फिर्ता ल्याई आफू कार्यरत सामुदायिक विद्यालय दाप्चा माविमा भर्ना गरेर शिक्षा क्षेत्रमा एक सशक्त सन्देश दिएका हुन । उहाँहरूले देखाएको यस विश्वास, समर्पण र दृढताले सम्पूर्ण शिक्षा क्षेत्रलाई गहिरो प्रभाव पारेको छ ।

हिजो शुक्रबार आयोजित सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष रामेश्वर अधिकारी, शिक्षक अभिभावक संघ (शिअस) अध्यक्ष मनोज प्रसाद अधिकारी र विद्यालय परिवारको उपस्थितिमा उहाँहरूलाई सम्मान प्रदान गर्दै खुलेर प्रशंसा गरिएको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र सिंह घटालले जानकारी गराउनु भयो ।

कार्यक्रमका वक्ताहरूले शिक्षक आफैंले सामुदायिक विद्यालयमा विश्वास गरी आफ्ना छोराछोरी पढाउनुले विद्यालयको गुणस्तर, वातावरण र क्षमताप्रति सन्देह गर्नुको कुनै आधार नरहेको स्पष्ट हुने बताए । “जब शिक्षकले आफैं विश्वास गर्छन, तब समाजलाई पनि त्यो विश्वास गर्न सहज हुन्छ ।”

विद्यालय परिवारले पनि एकमतले भने, “शिक्षकहरूबाट आएको यस्तो आत्मविश्वासी निर्णयले अरू अभिभावक र शिक्षकहरूलाई पनि सामुदायिक विद्यालयप्रति आकर्षित गर्नेछ । यसबाट सामुदायिक शिक्षाप्रतिको धारणा सकारात्मक र थप बलियो हुनेछ ।”

देशभर सामुदायिक विद्यालयहरू गुणस्तर सुधारतर्फ लागिरहेका वर्तमान अवस्थामा दाप्चा माविमा भएको यस्तो पहलले एउटा स्पष्ट सन्देश दिएको छ— शिक्षा भनेको केवल विद्यालयको नाम होइन, शिक्षकको समर्पण र समुदायको सहभागिता पनि हो । यस उदाहरणबाट सबैले सिक्नुपर्ने कुरा के हो भने, जब शिक्षक स्वयमले सामुदायिक शिक्षालाई अपनाउँछन्, तब त्यो विद्यालय मात्र होइन, सिंगो समाज नै परिवर्तनको बाटोमा अग्रसर हुन्छ ।

विद्यालयका प्रधानाध्यापक लोकेन्द्र सिंह घटालले भने “जब शिक्षकले आफैं आफ्नो सन्तानलाई यही सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय गर्छन्, त्यो केवल एक व्यक्तिगत निर्णय होइन, त्यो सम्पूर्ण सामुदायिक शिक्षा र विद्यालय प्रणालीमा गहिरो भरोसाको संकेत हो । शिक्षामा सुधार भन्ने कुरा देखावटी नाराबाट होइन, यस्ता साहसी कदमहरूबाट सम्भव हुन्छ । लक्ष्मी मिस, रुषा मिस र कविता मिसले देखाउनुभएको समर्पण वास्तवमै अनुकरणीय छ ।”

उहाँले थप भन्नुभयो, “शिक्षकले विश्वास गर्यो भने अभिभावकले विश्वास गर्न ढिलाइ गर्दैन । आजको यो कदमले दाप्चा मात्र होइन, देशभरका सामुदायिक विद्यालयहरूलाई आत्मबल र प्रेरणा दिनेछ ।” विद्यालय परिवारले शिक्षिका लक्ष्मी श्रेष्ठ, रुषा श्रेष्ठ र कविता पाठकलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “हामी उहाँहरूको निर्णयलाई हृदयदेखि सम्मान गर्छौं । यस्ता शिक्षकमाथि हामीलाई गर्व छ ।”

हिजो नै उक्त विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरू र नयाँ शिक्षकलाई पनि स्वागत तथा सम्मान गरिनुका साथै सम्पूर्ण विद्यार्थीहरूलाई विव्यस अध्यक्ष रामेश्वर अधिकारीको आर्थिक सहयोगमा कापी लगायत शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित