इन्धन महँगिएसँगै यातायात भाडा फेरि वृद्धि

काठमाडौँ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको तीव्र वृद्धिसँगै सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ ।

यातायात व्यवस्था विभाग ले यसअघि चैत २५ गते भाडा समायोजन गरेकोमा इन्धनको मूल्य थप बढेपछि बुधबार पुनः ढुवानी तथा यात्रुवाहक दुवै तर्फ ५ प्रतिशतले भाडा वृद्धि गरेको हो ।

यसअघि गरिएको समायोजनअनुसार यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६।७१ प्रतिशत, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१।६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५।७५ प्रतिशतले बढाइएको थियो । तर त्यसयता डिजेलको मूल्य प्रतिलिटर करिब ५५ रुपैयाँले बढेपछि व्यवसायीले पुनः भाडा समायोजनको माग गर्दै आएका थिए ।

विभागले वैशाख ९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लाई यात्रुवाहक सवारीका लागि ९।८ प्रतिशत र ढुवानीतर्फ पहाडी क्षेत्रमा करिब १४ प्रतिशत तथा तराईमा १२ प्रतिशतसम्म वृद्धि गर्ने सिफारिस गरेको थियो । तर मन्त्री सुनिल लम्साल ले ५ प्रतिशत वृद्धि मात्र स्वीकृत गरेपछि सोहीअनुसार भाडा समायोजन गरिएको हो ।

यद्यपि, यातायात व्यवसायीहरूले भने प्रदेश सरकारहरूले भाडा समायोजन नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ का वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार संघीय सरकारले निर्णय गरेपछि सबै प्रदेशले एकैपटक लागू गर्नुपर्ने भए पनि हाल बागमती र कोशी प्रदेशबाहेक अन्य प्रदेशले चासो नदेखाएको गुनासो छ ।

उनले प्रदेश र संघबीच समन्वयको अभावका कारण कतै पुरानो र कतै नयाँ भाडादर कायम हुँदा व्यवसायी र यात्रु दुवै अन्योलमा परेको बताए । डिजेलको मूल्य उल्लेख्य रूपमा बढिसक्दा पनि अधिकांश प्रदेशमा भाडा समायोजन नहुनु अव्यावहारिक भएको उनको भनाइ छ ।

सिटौलाले देशभर एकरूप रूपमा भाडा समायोजन लागू गर्नुपर्ने माग गर्दै सरकारले समन्वयकारी संयन्त्रमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित