बेलडाँडीको रौलेश्वर क्याम्पसमा चुनावी माहोल तात्यो : अध्यक्षमा भट्ट, जोशी र पण्डित बीच प्रतिस्पर्धा

बेलडाँडी । बेलडाँडी गाउँपालिका–२ स्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा सञ्चालक समिति चयनका लागि चुनावी तयारी तातेको छ । अभिभावक सदस्यबीच सहमति जुट्न नसकेपछि क्याम्पस प्रशासनले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धनप्राप्त क्याम्पसको चौथो सञ्चालक समिति गठनका लागि आगामी भदौ २१ गते (शनिबार) मतदान हुने तय भएको छ । क्याम्पस प्रमुख प्रयागराज जोशीका अनुसार त्रिविको विधानअनुसार अध्यक्षसहितका पदाधिकारीमा पटक–पटक सहमति खोजिए पनि असफल भएपछि अन्ततः निर्वाचनको बाटो रोजिएको  हो ।

अध्यक्षका लागि ईश्वरीदत्त भट्ट, पवनकुमार जोशी र पुष्पकमल पण्डित प्रतिस्पर्धामा उत्रिएका छन् । यसअघि अध्यक्षसमेत रहेका भट्ट फेरि नेतृत्व सम्हाल्ने रणनीतिसहित मैदानमा छन् । स्वास्थ्यकर्मी पवनकुमार जोशीले बेलडाँडीको उच्च शिक्षामा सुधार गर्ने एजेन्डा अघि सारेका छन् भने पूर्वविद्यार्थी एवं स्थानीय जनप्रतिनिधि भइसकेका पुष्पकमल पण्डितले पनि गाउँकै क्याम्पसलाई आधुनिक र प्रभावकारी बनाउन नेतृत्व लिने दाबी गरेका छन् ।

पाँच खुला सदस्यका लागि मदनसिंह खत्री, नरेन्द्रबहादुर रोकया, महेश विष्ट, सुकन्दराज सोती, चक्रबहादुर शाह, भुवनेश्वर पण्डित, वीरबहादुर विष्ट, वीरबहादुर बडुवाल, सञ्जीवविक्रक सिंह (धुव्र), वेदप्रकाश जोशी (प्रकाश) र महेशराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । दुई बुद्धिजीवी सदस्यका लागि वीरबहादुर सिंह (ठकुरी), रामबहादुर जैसी, जयलाल भट्ट, राधाकृष्ण पाठकले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै दुई महिला सदस्यका लागि कमलादेवी कार्की, लोकमाया जेठारा, कलावती देवी बम र कृष्णा गिरीले हिजो उम्मेदवारी दिए पनि आज कार्की र गिरीले उम्मेदवारी फिर्ता लिएपछि जेठारा र बम निर्विरोध निर्वाचित भएका छन् । भने आदिवासी, जनजाति तथा दलित सदस्यतर्फ लक्ष्मण सुनार हिजो नै निर्विरोध भएका छन् ।

आ.व. २०६४ सालमा ग्रामीण भेगका विद्यार्थीलाई गाउँमै उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको क्याम्पसमा अहिले १७२ आजीवन सदस्य छन् । यही सदस्य नै निर्वाचनका मतदाता हुनेछन् ।

अभिभावक तथा सरोकारवालाले क्याम्पस सुधारका लागि प्रतिस्पर्धी उम्मेदवारलाई प्रतिबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । स्थानीयस्तरमै उच्च शिक्षा विस्तार र गुणस्तर अभिवृद्धिमा कसले विश्वसनीय नेतृत्व दिन्छ भन्ने उत्सुकतामाझ बेलडाँडीमा अहिले चुनावी माहोल तातिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित