देउसीभैलो खेलेर पिकनिक जाने चलन बढ्दै, बेलडाँडीको क्याम्पु टोली टिकापुर पार्कमा

बेलडाँडी । तिहारको रमझमसँगै देउसीभैलो खेलेर संकलन भएको रकमबाट सामूहिक पिकनिक तथा पर्यटकीय स्थल भ्रमणमा जाने चलन पछिल्लो समय बढ्दै गएको छ । देउसीभैलोबाट संकलित रकमलाई सामूहिक खुसी, मनोरञ्जन र आपसी सद्भाव साटासाट गर्ने माध्यम बनाउँदै विभिन्न टोल तथा समूहका मानिसहरू घुमफिरमा निस्कन थालेका छन् ।

यसैक्रममा कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ क्याम्पुस्थित स्थानीय टोली देउसीभैलो खेलेर संकलन गरेको रकमको सदुपयोग गर्दै कैलालीको प्रसिद्ध पर्यटकीय स्थल टिकापुर पार्क पुगेको थियो । एउटै टोलका महिला, पुरुष, युवायुवती तथा बालबालिकासहित करिब ५० देखि ६० जनाको टोली सामूहिक पिकनिक तथा भ्रमणका लागि टिकापुर पुगेको हो ।

टोलीकी संयोजक बिमला ऐरीले एउटै टोलका यति धेरै मानिस एकैसाथ घुम्न पाउँदा निकै खुसी र रमाइलो लागेको बताइन् । दैनिक व्यस्तताका कारण टोलका सबै मानिस एकै ठाउँमा भेला भएर रमाइलो गर्ने अवसर कमै मिल्ने गरेको उल्लेख गर्दै उनले यस्तो भ्रमणले आपसी चिनजान, आत्मीयता र भाइचाराको सम्बन्ध थप बलियो बनाउने बताइन् ।

पछिल्लो समय टिकापुर पार्क आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । पार्कमा दैनिक हजारौँ पर्यटक पुग्ने गरेको पार्कले जनाएको छ । विशेषगरी चाडपर्व र बिदाको समयमा यहाँका पिकनिक स्पटहरू पर्यटकले भरिभराउ हुने गरेका छन् । परिवार, साथीभाइ तथा विभिन्न संघसंस्थाका समूह वनभोज र घुमफिरका लागि पार्क पुग्ने गरेका छन् ।

सामूहिक भ्रमणले मनोरञ्जनसँगै नयाँ ठाउँको अवलोकन, प्रकृति र वातावरणबारे जानकारी तथा नयाँ अनुभव हासिल गर्ने अवसरसमेत प्रदान गर्छ । व्यस्त दैनिकीबाट केही समय छुट्याएर आफन्त, छिमेकी र साथीभाइसँग बिताइने यस्ता पलले मानसिक ताजगी दिनुका साथै सामाजिक सम्बन्धलाई पनि प्रगाढ बनाउँछन् ।

देउसीभैलो खेलेर संकलित रकमलाई व्यक्तिगत खर्चभन्दा सामूहिक खुसी र अनुभव साटासाटमा उपयोग गर्नु सकारात्मक अभ्यासका रूपमा देखिएको छ । यसले तिहारको सांस्कृतिक परम्परालाई निरन्तरता दिनुका साथै समुदायमा एकता, सहकार्य र सद्भाव बढाउन सहयोग पुर्‍याएको छ ।

यसरी देउसीभैलोको सांस्कृतिक रौनकलाई सामूहिक भ्रमणसँग जोड्ने बढ्दो अभ्यासले चाडपर्वको खुसीलाई थप फराकिलो बनाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित