काठमाडौँ । जेनजी आन्दोलनका क्रममा विद्यार्थीहरूमाथि गरिएको गोली प्रहार र त्यसका कारण असंख्य युवा–विद्यार्थीको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निजी विद्यालयहरूमा दुई दिन शोक बिदा दिइने भएको छ।
नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै भदौ २४ र २५ गते देशभरका निजी विद्यालयमा शोक बिदा रहने जानकारी गराएका छन्।
विज्ञप्तिमा भनिएको छ–
“देशका विभिन्न भागमा भएको शान्तिपूर्ण आन्दोलनलाई सरकारले दमन गर्दै विद्यार्थीहरूमाथि समेत गोली प्रहार गर्दा थुप्रै युवा र विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त पीडादायी अवस्था सिर्जना भएको छ। सयौँ घाइतेहरू अझै पनि विभिन्न अस्पतालहरूमा उपचाररत छन्। यो केवल शैक्षिक क्षेत्रको मात्र पीडा होइन, समग्र नेपाली समाजलाई स्तब्ध पार्ने र सरकारको दमनकारी हिंसात्मक चरित्रलाई उजागर गर्ने घटना हो।”
संगठनहरूले दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्। साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हिंसात्मक दमनमार्फत आन्दोलन दबाउने सरकारी प्रवृत्तिको कडा निन्दा गरेका छन्।
“यस अकल्पनीय घटनाले हामी सबैलाई गहिरो पीडा दिएको छ। सरकारले जनताको आवाजलाई सम्मान गर्नुपर्नेमा गोली प्रहार गरेर निर्दोष विद्यार्थी र युवा–विद्यार्थीहरूको रगत बगाएको छ। यस्तो दुःखद परिस्थितिमा हामीले २०८२ भदौ २४ र २५ गते शोक बिदा दिने निर्णय गरेका छौँ।”






















Discussion about this post