रौतहट । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। करिब एक महिनादेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचाररत आलमको शुक्रबार राति भेन्टिलेटरमा राखिएको अवस्थामा निधन भएको हो। उहाँको उमेर ६३ वर्ष थियो।
उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घ रोगले पीडित आलमको स्वास्थ्य अवस्था पछिल्लो एक सातादेखि झनै जटिल बन्दै गएपछि चिकित्सकहरूले उनलाई भेन्टिलेटरमा राखी उपचार गर्दै आएका थिए। उपचारकै क्रममा शुक्रबार राति निधन भएको कांग्रेसका नेता तथा आलमका निकट सहयोगी देवप्रसाद तिमल्सिनाले पुष्टि गरे।
“पछिल्लो समय उहाँको स्वास्थ्य अवस्था निकै कमजोर थियो,” तिमल्सिनाले भने, “उपचारकै क्रममा उहाँले देहत्याग गर्नुभयो।”
आलमका कान्छा छोरा तथा राजपुर नगरपालिकाका प्रमुख डा. राजिक आलमका अनुसार डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा उपचारपछि स्वदेश फर्काइएका आलमलाई केही समयपछि पुनः स्वास्थ्य समस्या देखा परेपछि काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो।
गएको जेठ १४ गते नख्खु कारागारबाट मुक्त भएका आलमलाई त्यसको केही दिनमै मस्तिष्कघात भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज गरिए पनि दशैंअघि समस्या बल्झिँदै गएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ।
२०६४ साल चैतमा रौतहटको राजपुरमा भएको बम विस्फोटमा संलग्न रहेको अभियोगमा आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको थियो। तर गत जेठ १४ गते उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासले उनीसहित चार जनालाई सफाइ दिएको थियो। त्यसपछि उनी नख्खु कारागारबाट मुक्त भएका थिए।
रौतहट क्षेत्र नम्बर २ मा लामो समयदेखि कांग्रेसको सशक्त नेता मानिँदै आएका आलम चार पटकसम्म प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो पटक २०५१ सालको उपनिर्वाचनमा उनी विजयी बनेका थिए। त्यसपछि २०५६, २०६४ र २०७४ सालमा पनि लगातार जनताको विश्वास जित्न सफल भए।
राजनीतिक जीवन २०३६ सालमा नेपाल विद्यार्थी संघबाट सुरु गरेका आलम २०५४ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको नेतृत्वको सरकारमा श्रम राज्यमन्त्री बनेका थिए। त्यसपछि विभिन्न कालखण्डमा उनले वन राज्यमन्त्री, स्थानीय विकास राज्यमन्त्री र भूमिसुधार मन्त्रीको जिम्मेवारी पनि सम्हाले।
आलमको राजनीतिक यात्रा कांग्रेसका वरिष्ठ नेता गिरिजाप्रसाद कोइराला र काका शेख इद्रिसको नजिकका सहयोगीको रूपमा बित्यो। उनी सधैं दक्षिणी तराईका मुस्लिम समुदायबीच कांग्रेसको स्थायी आधार तयार पार्न सफल नेतामध्ये एक थिए।
उनका दुई छोरा र एक छोरी छन्। जेठा छोरा डा. फिरदोस र कान्छा छोरा डा. राजिक हुन्। परिवारका अनुसार अन्तिम संस्कारबारे निर्णय गर्न रौतहटमा परिवार र पार्टीजनबीच परामर्श भइरहेको छ।
नेपालको राजनीतिमा सक्रिय जीवन बिताएका अफताव आलमको निधनले कांग्रेस मात्र होइन, देशको राजनीतिलाई पनि ठूलो क्षति पुगेको उनका सहकर्मीहरूले बताएका छन्।





















Discussion about this post