काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच संगठनात्मक एकीकरणका लागि सात बुँदे सहमति भएको छ। देशको विद्यमान राजनीतिक अस्थिरता, सुशासनको आवश्यकता र समाजवाद अभिमुख रुपान्तरणका लक्ष्यलाई ध्यानमा राख्दै दुबै पक्षबीच सहमति भएको हो।
बुधबार प्रकाशित सहमति पत्रमा देश र जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारको रक्षा गर्दै बाह्य हस्तक्षेपविहीन राजनीति, राष्ट्रिय अर्थतन्त्र र संस्कृति विकासका लागि अग्रसर हुने उल्लेख छ।
सहमतिको बुँदाअनुसार समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रुपान्तरणका लागि दुबै पक्ष कटिबद्ध हुने जनाइएको छ। साथै आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति गरिएको छ। महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने बताइएको छ।
त्यस्तै, मातृभूमि जागरण अभियानमा क्रियाशील सदस्यहरुलाई पारस्परिक सहमतिमा नेपाली कम्युनिष्ट पार्टीका विभिन्न तहमा समायोजन गर्ने र डा. भीम रावलको जिम्मेवारी लगायतका विषय आपसी सहमतिबाट टुंगो लगाइने उल्लेख गरिएको छ।
सहमतिमा पार्टीको विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम संयुक्त रूपमा तयार पारिने, पार्टी सञ्चालन लोकतान्त्रिक विधि, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार हुने र आवश्यकता अनुसार विभिन्न तहमा कार्यदल गठन गरिने प्रावधान समेत समावेश छन्।
यो सहमति पत्रमा मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा. भीम रावल, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का हस्ताक्षर छन्। सहमति मिति २०८२ साल कात्तिक २६ गते तय गरिएको हो।























Discussion about this post