बेलडाँडीमा समावेशी तथा गुणस्तरीय शिक्षाको अभियानमा अर्को सार्थक कदम : अपांगता भएका बालबालिकाको चित्रकला प्रदर्शन 

 बेलडाँडी । बेलडाँडी गाउँपालिकामा समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत अपांगता भएका विद्यार्थीहरूको पालिका स्तरीय चित्रकला प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेनको साझेदारीमा, नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) र कञ्चन सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित परियोजनाअन्तर्गत आयोजित उक्त कार्यक्रम कञ्चन सामुदायिक विकास केन्द्रकी अध्यक्ष रोशना थापा मगरको अध्यक्षता र बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्देश्य विद्यालय जान असमर्थ अपांगता भएका बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्नु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रानाले समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाले अपांगता भएका बालबालिकालाई घरमै सिक्ने अवसर दिलाएर उनीहरूको भविष्य उज्यालो बनाइरहेको उल्लेख गर्दै, “हामी सबै मिलेर पालिकाको शिक्षालाई सबलीकरण गर्ने नयाँ अध्याय लेख्नुपर्छ,” भन्दै समावेशी शिक्षालाई पालिकाको प्राथमिकतामा राखिएको बताए ।

उनले अपांगता भएका बालबालिकाको पहुँच सुनिश्चित गर्न गाउँपालिका परियोजनासँग हातेमालो गर्दै काम गरिरहेको पनि जानकारी दिए ।

वडा नं. ५ का अध्यक्ष इन्द्र बहादुर खड्काले परियोजनाले बेलडाँडीमा शिक्षाका क्षेत्रमा नमूना योग्य कार्यहरू गर्दै आएको भन्दै, “समावेशी शिक्षाको उत्कृष्ट उदाहरण प्रस्तुत भएको बताए ।,” उनले अपांगता भएका बालबालिकालाई चित्रकला प्रतियोगितामा सहभागी गराउनुले उनीहरूको आत्मबल र मनोबल दुवै बढाएको बताए ।

त्यस्तै, शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले अवसर पाए असम्भव केही छैन भन्ने सन्देश यस कार्यक्रमले दिएको बताए । बालबालिकाको खुसी र उत्साह नै यसको सफलता हो ।,” उनले भने NNSWA र कञ्चन सामुदायिक विकास केन्द्रले समुदाय, विपद् र शिक्षासम्बन्धी क्षेत्रमा निरन्तर सहयोग पुर्‍याउँदै आएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष नारद सिंह उर्याल, शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाही, परियोजनाका शिक्षा प्रमुख ऋषिकेश जैरु, विद्यालयका प्र.अ. तथा शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सरस्वती जनता मा.वि, सरस्वती मा.वि झर्नासागर, गणेश मा.वि, शैलेश्वरी आ.वि, त्रिशुली आ.वि र कालिका आ.विका विद्यार्थीहरूले चित्रकला प्रदर्शनमा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको समापन गर्दै कञ्चन सामुदायिक विकास केन्द्रकी अध्यक्ष रोशना थापा मगरले आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै भनिन्, “यस्ता प्रतियोगिताले बालबालिकाको मनोबल बढाउँछ र शिक्षक-विद्यार्थीबीच आत्मीय सम्बन्ध प्रगाढ बनाउँछ ।” उनले आगामी दिनमा यस्ता कार्यक्रम गाउँपालिकाको पहलमा पनि सञ्चालन हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रमको सञ्चालन केन्द्रकी प्रवन्धक गिता राना क्षेत्रीले गरेकी थिइन् भने स्वागत तथा उद्देश्य प्रस्तुत ऋषिकेश जैरु (शिक्षा अधिकृत, NNSWA)ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित