कञ्चनपुर । तत्कालीन नेकपा (माओवादी) द्वारा राज्यविरुद्ध सञ्चालित जनयुद्धको क्रममा मंसिर ८ गते गठन गरिएको जनमुक्ति सेनाको २५औं स्थापना दिवस कञ्चनपुरको बेदकोट-३, चोरपानीस्थित पिकनिक स्पोर्टमा भव्य समारोहका बीच मनाइएको छ। भूपू जनमुक्ति सेना जिल्ला समितिको आयोजनामा भएको शुभकामना आदान-प्रदान सभाको अध्यक्षता समितिका अध्यक्ष आजितले गरेका थिए।
समारोहमा वक्ताहरूले जनयुद्धको अवधिमा जनमुक्ति सेनाले बोकेको “बन्दुकको नालबाट वर्गीय मुक्ति र सामाजिक न्यायको स्थापना” गर्ने ऐतिहासिक लक्ष्यलाई स्मरण गर्दै, यथार्थ परिवेशमा पनि जनमुक्ति सेनाको औचित्य र यसको ऐतिहासिक योगदान कुनै पनि आस्थाभन्दा माथि उठेर आत्मसम्मानका साथ मूल्यांकन गर्नुपर्नेमा जोड दिए।
शान्ति प्रक्रियापछि जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन गरिएको भए पनि अनेक पूर्व लडाकुहरू आज पनि अधुरा सपना, अपूरा वाचा र पीडित मनस्थितिमा रहेको उल्लेख गर्दै उनीहरूले भने, “हामीले वर्गीय र सामाजिक न्यायको आशामा जनयुद्ध लड्यौं, तर नेताहरू सत्ताको खेलमा अल्झिँदा हाम्रो सपना अधुरै रह्यो।”
यस वर्षको जनमुक्ति सेना दिवसलाई कञ्चनपुरका पूर्व लडाकुहरूले आत्ममूल्यांकन, स्मरण र पुनःसंकल्पका रूपमा मनाएको बताइएकाे छ। कार्यक्रमस्थलमा पड्काइएका पटाकाले युद्धकालका सम्झना, सहकर्मीहरूको बलिदान, घाइते-अपांग लडाकुको पीडा तथा युद्धमा जीवन गुमाएकाप्रति समर्पणको प्रतीकात्मक अभिवादन व्यक्त गरेको थियो।
वक्ताहरूले संविधान तथा जनअधिकारमाथि भइरहेको हस्तक्षेप असह्य भईसकेको उल्लेख गर्दै, जनचेतनाको जग पुनः बलियो बनाउनुपर्ने समय आएको बताए। जनमुक्तिको अधुरो अभियानलाई पूरा गर्ने भरोसासहित उनीहरूले पुनःसंकल्प व्यक्त गरे।
कार्यक्रममा कमरेड आजित, लोकेश, सन्दर्भ, दिपक, राजेन्द्र, जमन, अशिम, दृष्टि, अर्जुन, प्रकाश, मानबहादुर, कृष्णबहादुर, दिलबहादुर, रेशु, प्रेमा, रमेश, सागर, रितिक, मुक्ति, निर्माण, पदम, मिनबहादुर, चरण, प्रेम लगायत पूर्व जनमुक्ति सेनाका कमाण्डर तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






















Discussion about this post