काठमाडौं । विनोद भण्डारीको चम्किलो अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै लगातार चौथो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १४४ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमै ३ विकेट गुमाएर सहजसँग पूरा गर्यो। लगातार चार जितपछि ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको रोयल्स प्लेअफको ढोका लगभग खोलेको छ। बाँकी ३ मध्ये एक खेल जिते प्लेअफ सुनिश्चित हुने अवस्था छ।
पहिलो खेलमै शानदार सुरुवात गरेको लुम्बिनी भने खराब लयमा रहँदै पछिल्ला तीनै खेल हार्न बाध्य भयो। ४ खेलबाट जम्मा २ अंक रहेको लुम्बिनीको प्लेअफ यात्रामा अब ठूलो चमत्कारको आवश्यकता परेको छ।
सुदूरपश्चिमका लागि विकेटकिपर ब्याटर विनोद भण्डारी आजका हिरो बने-४९ बलमा ५ चौका र ४ छक्काका साथ अविजित ६९ रन प्रहार गर्दै। यो उनको यस सिजनको पहिलो अर्धशतक हो।
आरिफ शेखले ३७ बलमा ४ चौका र एक छक्कासहित ३९ रनको महत्वपूर्ण साथ दिए। क्रिकेट लिनले १९ रन जोडे भने जोश ब्राउन ९ रनमा पेभेलियन फर्किए।
लुम्बिनीका बलरमध्ये रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान एक-एक विकेट हात पारे पनि टोलीलाई जित दिलाउन सकेनन्।






















Discussion about this post