बैतडीमा जन्ती बोकेको बस दुर्घटना: ८ जनाको मृत्यु, १५ भन्दा बढी घाइते

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका-७, भौनीबाट जन्ती लिएर फर्किँदै गरेको पवनदूत यातायातको सुपप्र-०२-००१ ख १११९ नम्बरको बस सोही वडाको बढगाउँ मोडमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिए।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जनाको कोटीला स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनाको खबर पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली खटिएको थियो भने स्थानीयवासीहरूले समेत उद्धारमा सहयोग गरेका छन्।

घाइतेमध्ये १५ जनालाई नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको र दुर्घटनाले ठूलो मानवीय क्षति पुगेको डीएसपी रायले बताए।

हालसम्म मृत्यु हुनेमध्ये चार जनाको मात्रै पहिचान खुलेको छ। मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशव जोशी, १३ वर्षीय अशोक जोशी, ३५ वर्षीय बसन्त जोशी र केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट रहेका छन्।

प्रहरीका अनुसार ४५ जनाको उद्धार गरी कोटीला स्वास्थ्य चौकी पठाइएको छ। दुर्घटनाग्रस्त बस बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको बुझिएको छ।

उद्धारमा खटिएका पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार रातिको समय भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने तयारी भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित