डिल्ली पन्त/कञ्चनपुर । नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा भिमदत्त नगरपालिका-२ का वडा अध्यक्षमा निर्वाचित डम्मर कार्की (डिके) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपा कञ्चनपुर क्षेत्र नम्बर ३ को सचिवालयमा आयोजित कार्यक्रममा कार्कीले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। उनलाई रास्वपाका केन्द्रीय विज्ञान तथा सूचना प्रविधि विभागका सचिव एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार ज्ञानेन्द्र सिंह महताले पार्टीको ब्याच लगाइदिएर स्वागत गरेका थिए।
वडा अध्यक्षको कार्यकालमा कार्कीले स्थानीय विकास, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गरेको चर्चा रहँदै आएको छ। जनतामाझ पहुँच र कार्यक्षमताका कारण उनी स्थानीय तहमा सक्रिय र लोकप्रिय जनप्रतिनिधिका रूपमा परिचित थिए।
पार्टी प्रवेशपछि कार्कीले पुराना दलहरूको परम्परागत राजनीतिक शैलीबाट जनता आजित भइसकेको उल्लेख गर्दै वैकल्पिक, पारदर्शी र जनमुखी राजनीतिका लागि रास्वपा नै सही विकल्प भएको धारणा व्यक्त गरे। उनले रास्वपामार्फत जनताको अपेक्षा र आवश्यकता अनुसारको राजनीति अघि बढाउन आफू प्रतिबद्ध रहने बताए।
कार्यक्रममा रास्वपाका नेताहरूले अनुभवी र जनउत्तरदायी जनप्रतिनिधिको पार्टी प्रवेशले संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे। स्थानीय तहको अनुभव भएका नेतृत्व रास्वपामा जोडिनु पार्टीका लागि सकारात्मक सन्देश भएको उनीहरूको भनाइ थियो।
डम्मर कार्कीको रास्वपा प्रवेशसँगै कञ्चनपुरको राजनीतिक गतिविधि थप चहलपहलपूर्ण बनेको छ भने आगामी निर्वाचनलाई लिएर क्षेत्र नम्बर ३ मा रास्वपाको संगठनात्मक आधार बलियो हुँदै जाने संकेत देखिएको छ।
























Discussion about this post