नेपाल प्रहरीद्वारा दार्चुलामा ८८४ निर्वाचन प्रहरी परिचालन, १५ मतदान स्थल अति संवेदनशील सूचीमा

दार्चुला: प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीसँग समन्वय गरी थप सुरक्षाका लागि नियुक्त गरिएका निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामातहतका विभिन्न युनिटमा परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार छनोट प्रक्रियाबाट चयन भएका निर्वाचन प्रहरीलाई १० दिने आधारभूत सुरक्षा तालिम प्रदान गरेपछि सम्बन्धित इकाइमा खटाइएको हो। निर्वाचन अवधिमा अपनाउनुपर्ने सुरक्षा रणनीति, भीड व्यवस्थापन, मतदान केन्द्रको संरक्षण तथा आपत्कालीन अवस्थासँग जुध्ने विषयमा विशेष प्रशिक्षण दिइएको उनले जानकारी दिए।

तालिम सम्पन्न भएपछि पाँचवटा इलाका प्रहरी कार्यालय तथा विभिन्न प्रहरी चौकीमा उनीहरूलाई परिचालन गरिएको छ। “निर्वाचन प्रहरी नियमित सुरक्षाकर्मीसँग समन्वय गर्दै मतदान अवधिभर जिम्मेवारी निर्वाह गर्नेछन्,” निरीक्षक भट्टले बताए।

यसैगरी सशस्त्र प्रहरी बलतर्फबाट नियुक्त सुरक्षाकर्मी पनि सम्बन्धित निकायसँगै परिचालित हुने जनाइएको छ। प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै नेपाल प्रहरीतर्फ ८८४ जना र सशस्त्र प्रहरी बलतर्फ ४६ जना निर्वाचन प्रहरी खटाइएको बताइएको छ। मतदान हुनुभन्दा करिब एक साताअघि उनीहरूलाई सम्बन्धित मतदान स्थलमा पठाइने तयारी गरिएको छ।

सुरक्षाका दृष्टिले दार्चुलाका ११२ मतदान स्थलमध्ये १५ स्थल तथा १४३ मतदान केन्द्रमध्ये २२ केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ। प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक अनिल पौडेलले उक्त जानकारी दिएका हुन्।

त्यस्तै ३२ मतदान स्थललाई संवेदनशील र ६५ स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ। “निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न तीन तहमा वर्गीकरण गरी सुरक्षा गस्ती र नियमित पेट्रोलिङलाई तीव्रता दिइएको छ,” प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

दार्चुलामा प्रतिनिधि सभा निर्वाचनका लागि कुल ९२ हजार ९४८ जना मतदाता कायम रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित