काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। शनिबार बिहान भक्तपुरबाट पक्राउ गरी दुवै जनालाई परिसरमा ल्याइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार उनीहरूलाई हाल परिसरमै राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरेको जनाएको छ।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।
उक्त सिफारिसलाई कार्यान्वयन गर्दै बालेन शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले दुवै जनामाथि अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सँग पक्राउबारे विस्तृत छलफल गरेका थिए। सोही छलफलको निष्कर्षअनुसार शनिबार बिहान दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले दुवै जनामाथि मुलुकी अपराध संहिताअनुसार अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। घटनाले राष्ट्रिय राजनीति तताएको छ भने यस विषयमा थप कानुनी तथा राजनीतिक बहस चर्किने देखिएको छ।



















Discussion about this post