काठमाडौँ : व्यवसायी दीपक भट्टलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद सुवेदीले बिहीबार भट्टलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले भट्टलाई पक्राउ गरेको हो । उनीमाथि विभागले लामो समयदेखि अनुसन्धान गर्दै आएको थियो ।
अनुसन्धानका क्रममा भट्टले बीमा ऐन २०७९ को दफा १४० अन्तर्गतको कसुर गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्तिलाई धितोपत्र बजार तथा अन्य क्षेत्रमा लगानी गरेर शुद्धीकरण गरेको आरोप लागेको छ ।
विभागका अनुसार उनले गैरकानुनी सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वरूप र प्रकृति परिवर्तन गर्ने गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ । यसअघि बयान लिइएको भए पनि थप प्रमाण संकलन र विस्तृत बयान आवश्यक देखिएकाले विभागले उनलाई पुनः अदालतमा उपस्थित गराएको हो ।




















Discussion about this post