होलीफेम्लीको मैदानमा भएको भीमदत्त अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता उपाधी मोर्निङ्गग्लोरी स्कुललाई

विकास सिह महता/कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित मर्निङ ग्लोरी स्कुलले भीमदत्त अन्तरविद्यालयस्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। होलीफेम्ली इङ्गलिस मिडियम स्कुलको आयोजनामा एक सातादेखि सञ्चालन भएको प्रतियोगिताको फाइनलमा इन्टरनेशनल पब्लिक स्कुललाई १४ रनले पराजित गर्दै मर्निङ ग्लोरी च्याम्पियन बनेको हो।

शनिबार सम्पन्न फाइनल खेलमा मर्निङ ग्लोरीले पहिलो ब्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो। १०० रनको लक्ष्य पछ्याएको इन्टरनेशनल पब्लिक स्कुल ८६ रनमै अलआउट भएपछि मर्निङ ग्लोरीले रोमाञ्चक जित हात पारेको हो।

उपाधिसँगै मर्निङ ग्लोरीले नगद रु. ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता इन्टरनेशनल पब्लिक स्कुलले नगद रु. ३१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका मर्निङ ग्लोरीका लब ओखेडा ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगिताभर उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई जनही रु. २ हजार ५०० सहित ट्रफी प्रदान गरिएको थियो। त्यसैगरी ‘म्यान अफ द सिरिज’लाई रु. ३ हजार तथा ‘उदीयमान खेलाडी’लाई रु. १ हजार ५०० सहित ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।

१८ टोलीको सहभागिता रहेको प्रतियोगिता होलीफेम्ली इङ्गलिस मिडियम स्कुलको खेल मैदानमा सञ्चालन गरिएको थियो। विद्यालयका सञ्चालक भूपालसिंह विष्टले भीमदत्त नगरपालिका, जिल्ला क्रिकेट संघ तथा विभिन्न सरोकारवाला निकायको समन्वय र सहकार्यमा प्रतियोगिता आयोजना गरिएको बताए।

उनका अनुसार भीमदत्त नगरपालिकाभित्रका माध्यमिक तहका विद्यालयबीच प्रतिस्पर्धा गराइएको प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीमा खेलकुद संस्कृतिको विकास, अनुशासन, नेतृत्व क्षमता, स्वस्थ जीवनशैली तथा सकारात्मक प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्नु रहेको छ। आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित र स्तरिय बनाउँदै लैजाने उनको प्रतिबद्धता छ।

प्रतियोगिताको समापन समारोहमा भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक ले जिल्लामै पहिलोपटक यति ठूलो अन्तरविद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताइन्। उनले यस्ता प्रतियोगिताले क्रिकेट खेलको विकास र नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी ले विद्यालयस्तरबाट सुरु गरिएको प्रतियोगिताले खेलकुदसँगै शैक्षिक तथा व्यक्तित्व विकासका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने बताए।

होलीफेम्ली इङ्गलिस मिडियम स्कुलका सहायक म्यानेजर महादेव प्रसाद भट्ट ले क्रिकेट खेलको प्रवर्द्धन र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। विद्यालयअन्तर्गत सञ्चालन भइरहेको खेलकुद एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका खेलाडी उत्पादन गरिसकेको उल्लेख गर्दै उनले विद्यालयस्तरबाटै प्रतिभा पहिचान र विकासमा जोड दिइएको बताए।

त्यसैगरी, वीरेन्द्र बहादुर चन्द ले प्रदेशमै नमूना बन्न सक्ने गरी आयोजना गरिएको प्रतियोगिताले कञ्चनपुरमा क्रिकेटको भविष्य उज्ज्वल बनाउने विश्वास व्यक्त गरे।

विजेता विद्यालय मर्निङ ग्लोरीका प्रिन्सिपल चूडामणि शर्मा ले शैक्षिक गुणस्तरसँगै खेलकुद क्षेत्रमा गरिएको निरन्तर लगानी र मेहनतको परिणामस्वरूप विद्यालयले उपाधि जित्न सफल भएको बताए।

नगरभित्रका विद्यालयबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै विद्यार्थी खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको प्रतियोगिताले स्थानीय क्रिकेटप्रेमी दर्शकको समेत उल्लेखनीय साथ र समर्थन पाएको थियो। विद्यालयस्तरबाट क्रिकेटको आधार बलियो बनाउने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिता कञ्चनपुरको खेलकुद इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित