बेलडाँडीमा पहिलोपटक फुटबलको ‘लाइभ प्रसारण’, घरमै बसेर खेल हेर्न पाउँदा दर्शक उत्साहित

बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नम्बर १ मा रहेको अल स्टार युवा क्लबद्वारा जारी ९औँ संस्करणको बेलडाँडी खुला नकआउट फुटबल प्रतियोगिता–२०८३ यस वर्ष खेलसँगै प्रविधिको प्रयोगका कारण पनि विशेष बनेको छ।

प्रतियोगिताका खेलहरू बेलडाँडीमै पहिलोपटक व्यवस्थित रूपमा प्रत्यक्ष (लाइभ) प्रसारण हुन थालेपछि स्थानीय दर्शकदेखि विदेशमा रहेका नेपालीसम्मले घरमै बसेर खेलको प्रत्यक्ष आनन्द लिन पाएका छन्।

बेलडाँडी गाउँपालिका-१ स्थित अल स्टार युवा क्लबले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितालाई यस वर्ष थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै खेलमैदानको छेउमा हाइपोस्ट निर्माण गरी क्लबकै फेसबुक पेजमार्फत खेलको प्रत्यक्ष प्रसारण गरिरहेको क्लबका सचिव विकास सिंह महताले जानकारी दिए।

उनका अनुसार बेलडाँडीमा यसरी फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिएको यो पहिलोपटक हो। ‘खेल मैदानमा उपस्थित हुन नसक्ने दर्शकलाई घरमै बसेर खेल हेर्ने अवसर दिनुका साथै खेलाडीको प्रतिभा र प्रदर्शनलाई फराकिलो दर्शकमाझ पुर्‍याउने उद्देश्यले लाइभ प्रसारण सुरु गरिएको’ उनले बताए।

लाइभ प्रसारणले स्थानीय दर्शकसँगै रोजगारी तथा विभिन्न कारणले विदेशमा रहेका नेपालीलाई समेत आफ्नै गाउँठाउँमा भइरहेको खेल प्रत्यक्ष हेर्ने अवसर दिएको आयोजकको भनाइ छ। यसले खेलाडीको प्रतिभा पहिचान तथा मूल्याङ्कनमा समेत थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताको लाइभ प्रसारणप्रति दर्शकहरूले पनि खुशी व्यक्त गरेका छन्। खेलमैदानमा पुग्न नसक्ने अवस्थामा समेत मोबाइल तथा सामाजिक सञ्जालमार्फत खेल प्रत्यक्ष हेर्न पाउँदा आफूहरू उत्साहित भएको उनीहरूको भनाइ छ। दर्शकहरूले नयाँ प्रविधिको प्रयोगले अल स्टार युवा क्लबप्रतिको विश्वास र आकर्षणसमेत बढाएको प्रतिक्रिया दिएका छन्।

गौरा पर्वको अवसरमा आयोजना भइरहेको प्रतियोगितामा कञ्चनपुर र कैलाली जिल्लाका गरी २३ वटा टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरी प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले रु. ८३ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ४५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।

स्थानीयस्तरमा फुटबल खेलको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताले यस वर्ष खेलको प्रतिस्पर्धासँगै प्रविधिको प्रयोगमार्फत बेलडाँडीको फुटबललाई घर–घर र विदेशसम्म पुर्‍याउने नयाँ अभ्याससमेत सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित