बेलडाँडी । सहकारी संस्था केवल बचत तथा ऋणको कारोबार गर्ने माध्यम मात्र होइन, आफ्ना सदस्यको सुख-दुःखमा साथ दिने परिवार पनि हो भन्ने उदाहरण बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रस्तुत गरेको छ।
बेलडाँडी गाउँपालिका-२ स्थित संस्था अन्तरसमूह नं. ५, समूह नं. १५५ की सदस्य हिरादेवी फराडको यसै भाद्र ७ गते भएको आकस्मिक निधनप्रति संस्थाले दुःख व्यक्त गर्दै उहाँको १२औँ पुण्यतिथिका अवसरमा परिवारको घरमै पुगेर समवेदना प्रकट गरेको हो।
संस्थाका उपाध्यक्ष, प्रबन्धक तथा सहायक प्रबन्धकले मृतक परिवारलाई भेटेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्। साथै संस्थाले सदस्य राहत कोषबाट क्रियाखर्चबापत रु. ५० हजार सहयोग गरेको छ।
संस्थाका अध्यक्ष कमला रेग्मी जोशीले सदस्यको सुखमा मात्र होइन, दुःखमा पनि संस्था सँगै उभिनुपर्ने बताउँदै भनिन्, “सहकारी भनेको रकमको कारोबार गर्ने संस्था मात्र होइन, आफ्ना सदस्यको सुख-दुःखमा परिवारजस्तै साथ दिने साझा चौतारी हो। हाम्रो कुनै सदस्यले दुःख भोगिरहेको बेला संस्थाले सकेको सहयोग र आत्मीयता प्रदान गर्नु हाम्रो सामाजिक दायित्व हो।”
अध्यक्ष रेग्मीले सदस्यको पीडामा सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले राहत कोषमार्फत सहयोगलाई निरन्तरता दिइएको बताइन्।
दुःखको घडीमा घरमै पुगेर समवेदना व्यक्त गर्नुका साथै आर्थिक सहयोगसमेत प्रदान गरेको संस्थाको यो कार्यले सहकारी केवल आर्थिक कारोबारको केन्द्र नभई मानवीय संवेदना, आपसी सहयोग र सामाजिक उत्तरदायित्वको माध्यम पनि हो भन्ने सन्देश दिएको छ।
सदस्यको पीडामा मल्हम लगाउने यस्तो मानवीय पहलका लागि बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था स्थानीयस्तरमा अनुकरणीय र उदाहरणीय संस्थाका रूपमा प्रशंसित बनेको छ।





















Discussion about this post