बेलडाँडी। तिहारको खुसीयाली छाउने बेला कञ्चनपुरको तारापुर ढक्का शिविरमा भने शोक छाएको छ। जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएपछि सिंगो गाउँ शोकमा डुबेको छ।
तारापुर ढक्का शिविरमा बस्दै आएकी आरक्षपीडित अन्दाजी ६० वर्षीया लक्ष्मी डगौराको गएराति हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष मोतीराम डगौराका अनुसार राति हात्ती घरमा आक्रमण गर्न आएपछि श्रीमान् भागेर ज्यान जोगाउन सफल भएका थिए। तर, भाग्ने क्रममा रहेकी लक्ष्मीलाई हात्तीले आक्रमण गरी ज्यान लिएको उहाँले जानकारी दिनुभयो।
तिहारजस्तो खुसी र उमंगको पर्व नजिकिँदै गर्दा भएको यस घटनाले परिवार मात्र होइन, सिंगो बस्तीलाई नै स्तब्ध बनाएको छ। अझ दुःखद पक्ष त के छ भने गत वर्ष पनि सोही क्षेत्रमा हात्तीकै आक्रमणबाट एक बालिकाको मृत्यु भएको थियो। एक वर्ष नबित्दै पुनः अर्को मानवीय क्षति व्यहोर्नुपर्दा स्थानीयमा त्रास र चिन्ता थपिएको छ।
पछिल्लो समय हात्ती लगायतका जंगली जनावरको बस्ती आसपासको आवागमन बढ्दै गएको छ। जंगली जनावरको आक्रमणबाट स्थानीयको ज्यान र धनको क्षति हुने क्रम दोहोरिँदै जाँदा जंगल तथा निकुञ्ज आसपासका बस्तीका नागरिकको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
आखिर कहिलेसम्म जंगली जनावरको त्रासमा बाँच्नुपर्ने? कहिलेसम्म यसरी निर्दोष नागरिकले ज्यान गुमाइरहनुपर्ने? वन्यजन्तुको संरक्षणसँगै मानव जीवनको सुरक्षा सुनिश्चित गर्ने प्रभावकारी उपाय कहिले अपनाइने? तिहारको मुखैमा भएको यो दुःखद घटनाले फेरि एकपटक राज्यका सम्बन्धित निकायलाई गम्भीर बनाएको छ।
वन्यजन्तु संरक्षण आवश्यक छ, तर वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्दै नागरिकको ज्यान जोगाउने जिम्मेवारीबाट सम्बन्धित निकाय पन्छिन मिल्दैन। अब आश्वासनभन्दा पनि प्रभावकारी सुरक्षा व्यवस्थाको खाँचो देखिएको छ।
तिहारको उज्यालो नजिकिँएकै बेला एउटा परिवारको घरमा भने कहिल्यै नमेटिने अँध्यारो छाएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।




















Discussion about this post