बेलडाँडी। कञ्चनपुरको बेलडाँडी घर भएका नरेश भट्टलाई अमेरिकाको भर्जिनिया राज्यस्थित अदालतको जुरीले नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा तीनवटै अभियोगमा दोषी ठहर गरेको छ।
अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टीको अदालतमा मंगलबार (नोभेम्बर १०) भएको सुनुवाइपछि जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो।
कञ्चनपुरको बेलडाँडी घर भएका भट्टमाथि आफ्नै पत्नी ममताको हत्या गरेको आरोप लागेको थियो। करिब दुई वर्षदेखि चर्चामा रहेको यस प्रकरणमा झन्डै छ हप्तासम्म चलेको सुनुवाइपछि जुरीले अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणका आधारमा उनलाई दोषी ठहर गरेको हो।
अमेरिकाको भर्जिनियामा नर्सका रूपमा कार्यरत ममता सन् २०२४ जुलाईमा अचानक सम्पर्कविहीन भएपछि यो घटना सार्वजनिक भएको थियो। ममता हराएको घटनाको अनुसन्धान गर्दै प्रहरीले सन् २०२४ अगस्ट २२ मा उनका पति नरेशलाई पक्राउ गरेको थियो।
घटनाको सुनुवाइका क्रममा अभियोजन पक्षले फरेन्सिक प्रमाण, सीसीटीभी फुटेज, फोन रेकर्ड, इन्टरनेट सर्च हिस्ट्रीलगायत विभिन्न डिजिटल प्रमाण प्रस्तुत गरेको थियो। अभियोजन पक्षले भट्टले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेर विभिन्न स्थानमा फालेको दाबी गरेको थियो। भट्टले पनि ममताको शव काटेर व्यवस्थापन गरेको स्वीकार गरेका थिए। तर हत्या गरेको आरोप भने अस्वीकार गर्दै ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गरेका थिए। अहिलेसम्म ममताको शव फेला परेको छैन।
तीनवटै अभियोगमा दोषी ठहर भएपछि भट्टलाई प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्नेछ। उनको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सन् २०२७ मार्च १२ का लागि तोकिएको छ। फैसलापछि अदालतले उनको धरौटीसमेत खारेज गरेको छ।
यस घटनाले अमेरिकामा रहेका नेपाली समुदायसँगै नेपालमा पनि ठूलो चासो र चिन्ता उत्पन्न गरेको थियो। लामो समयदेखि ममता काफ्लेका लागि न्यायको माग गर्दै आएका परिवारजन तथा नेपाली समुदायका सदस्यहरूले फैसलापछि राहत र खुसी व्यक्त गरेका छन्।
फैसलापछि प्रिन्स विलियम काउन्टीकी कमनवेल्थ अटर्नी एमी एशवर्थले कुनै पनि फैसलाले ममतालाई फर्काउन वा उनको परिवारले भोगेको पीडा मेटाउन नसक्ने बताएकी छन्। उनले ममताको जीवन महत्त्वपूर्ण थियो, उनको आवाज सुनिएको छ र जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाइएको छ भन्ने विश्वासका साथ परिवारले अगाडि बढ्न सक्ने आशा व्यक्त गरेकी छन्।
बेलडाँडीसँग जोडिएको यो घटनाले स्थानीय स्तरमा समेत चासो बढाएको छ। अमेरिकाको म्यानासस पार्कमा भएको यो घटनाको फैसलासँगै लामो समयदेखि चर्चामा रहेको ममता काफ्ले हत्या प्रकरणमा जुरीबाट दोषी ठहर गर्ने प्रक्रिया टुंगिएको छ। अब सबैको ध्यान आगामी सजाय निर्धारणतर्फ केन्द्रित भएको छ।



















Discussion about this post